ठाउँठाउँमा दूध पोखेर र राजमार्ग बन्द गराएर किसानहरू आन्दोलनमा

 फागुन १७, २०८० बिहीबार १५:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुरलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् ।

नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् । किसानहरूकाे प्रदर्शनका कारण केहीबेर राजमार्ग पनि बन्द भएको थियो । किसानहरूले 'मिल्क होलिडे' अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

यस्तै उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसानले पनि विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताउनुभयो ।

यस्तै काभ्रेमा पनि किसानहरूले अरनिको राजमार्ग बन्द गरेर केहीबेर प्रदर्शन गरेका छन् । अन्यत्र दुध पोखे पनि काभ्रेमा भने किसानले बटुवालाई दूध खुवाएर विरोध गरेका छन् । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् ।

दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया