घर फर्कन पाउँ सरकार !

 बैशाख २८, २०७७ आइतबार ११:३३:२१ | मेरो कथा मेरो भोगाई

गोकर्ण आचार्य/नेपाल, हाल यूएई

काठमाण्डौ – म कुनै राजनीतिक दलको कार्यकर्ता होइन । कसैलाई चिप्लो घसेर फुर्काउन पनि आउँदैन । न त नेताहरुको झोला बोकेर र मान्छे रिझाएर जागिर नै खाएको हो ।

यी सबै कुराबाट माथि उक्लेर आफूलाई स्वच्छ बनाएँ र त आज खाडीको तातो हावामा आफूलाई डढाइरहेको छु । 

म तीन वर्ष पहिले आफ्ना तमाम समस्या हल गर्ने र सुनौला सपना पूरा गर्ने भनेर यस ठाउँमा आएको थिएँ । बीचमा घर जाने, आउने भइरहन्थ्यो । तर यसपटक भने विश्वव्यापी फैलिएको कोरोना महामारीले गर्दा त्यसो हुन पाएन ।

जहिल्यै पनि अप्रिल २४ देखि मेरो भ्याकेसन (छुट्टी) हुन्थ्यो । तर यसपटक भने कम्पनीको भ्याकेसन अनुभव नै गर्न पाइएन । मार्च १३ तारिख नै मेरो रोजगारीको अन्तिम दिन भयो ।

अनिश्चितकालका लागि कम्पनी बन्द भयो । कोरोनाको माहामारी सामान्य नहुन्जेलसम्म कम्पनी बन्द गर्ने भनेको छ । कम्पनीले बेतलबी बिदा दिएर राखेको छ । ५५ दिन भयो यसरी नै बेतलबी भएर बसेको । 

कोरोनाले मलाई शारीरिक रुपमा असर नगरे पनि मानसिक तथा आर्थिक रुपमा म लगायत मेरो परिवारमा समेत यसको नराम्रो असर परेको छ । खाने खर्चदेखि कोठाभाडा सबै आफैले तिर्नुपर्छ । समस्या दिनदिनै बढिरहेका छन् । दुई महिनाभन्दा अगाडिको तलबले दैनिकी चलाइरहनुपरेको छ । त्यो पनि सकिसक्यो । अब मलाई कोरोनाको भन्दा ठूलो डर विदेशी भूमिमा भोकै मर्छु कि भन्ने छ । 

म जस्तै लाखौं श्रमिकहरु यस्तै समस्या झेलिरहेका छन् । यस्तो अवस्थामा घर फर्कन पाउँ भनेर मजस्तै लाखौं श्रमिकको नेपाल सरकारलाई अनुरोध गरेका छौं ।

अवस्था सहज भएको बेला हामीले देशमा रेमिट्यान्स भित्र्यायौं । आज गास, बास र रोजीरोटी गुम्दा, गहभरी आँसु पार्दै हामीलाई लिन जहाज कहिले आउँछ भनेर आकाशमा हेरेर बस्नुको विकल्प छैन ।

मसँगै काम गर्ने भारत, पाकिस्तान, फिलिपिन्स, युरोपेली देशका श्रमिकहरुलाई उनीहरुको देशले स्वदेश फर्काएको छ । अहिले उनीहरु आफ्नो परिवारसित खुशीसाथ बसेका छन् । 

तर हाम्रो देशले परदेशमा समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने यत्ति पनि हिम्मत गर्दैन । साह्रै दुःख लाग्छ ।

दूतावासमा पचास पटक फोन गर्दा पनि फोन उठ्दैन । फोन उठिहाले पनि सान्त्वना र सद्भावनाको साटो अन्तर्वार्ता दिनुपर्छ हामीहरुले । म यहाँ मर्न चाहान्नँ । यदि मेरो देशमा सरकार छ भने नागरिकलाई सरकार हुनुको अनुभूति दिलाऔं ।

बरु म नेपाल फर्केर आफ्नै देशमा बनिबुतो गर्छु । बाँझा पाखामा सुन फलाउन प्रयत्न गर्छु । परिवार र सानी छोरीसँगै सुखदुःख साट्न चाहन्छु । बिन्ती छ सरकार मजस्ता धेरैलाई यस्तो समस्याबाट मुक्ति दिलाइदेउ । हामीलाई स्वदेश फर्किने वातावरण मिलाइदेउ ।

 

2 Comments

  • Kamal Sunar

    May 10, 2020, 12:43 p.m.

    नेपाल गुलामी , कमजोर थियो संधै कमजोर नै हुन्छ / नेपालको अगाडि हात फैलाएर केही हुनेवाला छैन / नेपालमा जन्मिनु अनि नेपाली हुन् नै हाम्रो अभाग्य हो अहिले नेपालको अवस्था हेर्दा /

  • Bishal

    May 10, 2020, 11:53 a.m.

    अब त अति भो , दुइ महिना हामीले सरकारलाई सहयोग गर्यौं / सरकारले बस भन्यो, हामी बस्यौं ...अब परिस्थिति त्यस्तो छैन जुन २ महिना अगाडि थियो ...धेरैलाई गाह्रो छ /म आफै पनि सरकारको यो लाचारीपनवाट पीडित छु / उज्यालोले घर आउन चाहने नेपालीको विषयमा जोडदार रुपमा उठाउन पर्यो , यसले उज्यालोलाईअझै लोकप्रिय बनाउँछ /

तपाईको प्रतिक्रिया