के हामी नेपाल फर्कन पाउँदैनौं त ?

 बैशाख २९, २०७७ सोमबार २०:३:३७ | मेरो कथा मेरो भोगाई

राम अधिकारी/मोरङ, हाल कतार

कतारमा धेरैजसो कम्पनीले आफ्ना कामदार कटौती गर्न सुरु गरेका छन् । कतिपय कम्पनीले बेतलबी बिदा दिएको छ भने कतिले काम गरेको मात्रै तलब दिने भनेको छ । अहिले धेरैजसो क्षेत्रमा काम रोकिएको अवस्था छ, अनि कहिले काम खुल्ने हो, केही थाहा छैन ।

यस्तो अवस्थामा यहाँ रहेका नेपालीहरु स्वदेश फर्कने तयारीमा छन्, तर सरकारले अन्तरर्राष्ट्रिय उडान बन्द गरेको छ । कहिले खुल्ने हो केही थाहा छैन ।

अहिलेसम्म त मैले काम गर्ने कम्पनीले खान र बस्नको व्यवस्था गरिरहेको छ  । तर अबको केही समय स्थिति सामान्य भएन भने तलब नदिने अवस्था आउला जस्तो छ ।

यहाँ मसँग श्रीमती पनि छिन् । श्रीमतीको भिजिट भिसा हो, भिसाको म्याद त थपिदिन्छ नै, तर त्यसको छुट्टै शुल्क तिर्नुुपर्छ । यसरी बिना तलब कति दिनसम्म भिसाको थप दस्तुर तिरेर बस्न सकिएला र ?

अरु साथीहरुको त अवस्था झन् धेरै पीडादायी छ । कति कम्पनीले त खाना पनि नदिएको अवस्था छ ।

केही दिन पहिले मात्रै एकजना नेपालीले आफूसँग खानेकुरा पनि नभएको र कम्पनीले पैसा पनि नदिएको भन्दै मलाई पैसा माग्नुभएको थियो । मैले केही पैसा दिएँ । यस्तो अवस्था अब बिस्तारै बढ्दै जाने देखिन्छ ।

अरु देशहरुले आफ्ना नागरिकलाई आफ्नो देश आउन चाहेको खण्डमा आउन मिल्ने व्यवस्था गरेको छ । जस्तै फिलिपिन्सले आफ्ना नागरिकलाई आफ्नो देश आउन मिल्ने गरेर उडान खुल्ला गरेको छ । 

मेरो कम्पनीका साथीहरु त्यसरी नै आफ्नो देश गरहेका छन् । भारतले पनि पानीजहाज प्रयोग गरेर अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई झिकाउने प्रक्रिया सुरु गरिसकेको छ । तर हाम्रो सरकारले भने त्यस्तो प्रकारको कुनै निर्णय गर्ने अथवा व्यवस्था मिलाउने तयारी गरेको जस्तो मलाई लाग्दैन ।

मलाई सधैंजसो नेपाली साथीहरुले ‘के हामी नेपाल जान पाउँदैनौ त’ भनेर सोधिरहनुहुन्छ । तर मसँग त्यसको जवाफ नै छैन । सायद हाम्रो सरकारसँग पनि यसको जवाफ छैन होला ।

कोरोना महामारीको यो भयावह अवस्थाको यदि अहिल्यै अन्त्य भएन भने हामी जस्ता लाखौं परदेशीको समस्या सरकारले कसरी समाधान गर्ला रु 
अझै केही महिनामा पनि स्थिति सामान्य भएन भने हाम्रो के हुन्छ ?

हुन त कतार सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सरह व्यवहार गर्नेछौं भनेर प्रतिबद्धता जनाएको छ । तर यहाँ कतार सरकारले दिएको निर्देशनलाई पालना नगर्ने धेरै कम्पनीहरु छन् । यस्तो कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरुको स्थितिको बारेमा बुझेर नेपाल सरकारले अथवा यहाँ भएको नेपाली दूतावासले उनीहरुलाई खाना र बस्नको लागि व्यवस्था गरिदिए पनि हुने थियो ।

तर त्यो पनि कहिलेसम्म गर्न सकिएला र रु त्यसैले नेपाल सरकारले अहिलेदेखि नै हामी परदेशीको बारेमा नसोच्ने हो भने पछि भयावह स्थितिको सामाना गर्नुपर्ने हुन सक्छ ।

अहिले यहाँ रहेका सबै नेपाली श्रमिकहरुको मनमा विभिन्न डर देखिन थालेको छ । यो स्थिति कहिलेसम्म रु, के हामी आफ्नै देशमा जान पाउँदैनौ त रु यो अवस्था लम्बिरहे हाम्रो के हुन्छ रु, सरकारसँग त्यसको  लागि कुनै तयारी छ त रु विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काएर त्यसको व्यवस्थापन गर्ने सामर्थ्य के नेपाल सरकारसँग छ त ? यस्तै यस्तै प्रश्नहरुले यहाँ रहेका नेपालीहरु दिनदिनै त्रसित बन्दै गइरहेका छन् ।

कम्तीमा पनि अति अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई अलिअलि गर्दै नेपाल फर्काउने र उनीहरुको लागि क्वरेन्टिनको व्यवस्था अहिलेदेखि नै गरे त्यो भयावह स्थितिको सामना गर्नु पर्ने थिएन कि ?

 

2 Comments

  • Anish Kaduwal

    May 13, 2020, 9:01 a.m.

    अब त खान बस्न पनि गाह्रो भैरहेको छ कम्पनिले पैसा दिएको छैन घर जान भनेर Feb 15 बाट डिउटी छाडेर बसेको कम्पनिले बसेको पैसा पनि दिदैन

  • Nikesh lama

    May 13, 2020, 4:43 a.m.

    मेरो नाम निकेश हो ...मेरो घर काठमाण्डौंमा पर्छ / म काम गर्ने कम्पनी एउटा ल्याबोरेटरी हो / यसले कतारमा थर्ड पार्टीको काम गर्छ / काम गर्ने सिलसिलामा साइटतिर पनि जानुपर्छ / म त चाइनिज मेशिन अपरेट गर्छु / हाम्रो कम्पनीले लकडाउनको बेला पनि काम गर्न लगायो ल्याबमा / जो जो काम गर्न गएन आफ्नो स्वास्थ्यलाइ ठूलो मानेर उनीहरुलाई तलब पनि दिएन कम्पनीले...दियो त २५० कतारी रियाल त्यो पनि ऋणको रुपमा /अझ ९ जनालाइ त टर्मिनेट नै गरि सक्यो / अब अहिले लकडाउन खुलेको अवस्था छ , तर हामी कत्ति पनि सुरक्षित छैनौ /तलव पनि एक हप्ताको काटेर दिने रे ...हाम्रो माग चाहिं काम गरेको दिनको (हाजिर भएको दिनको ) त पे गर्नुपर्यो नि ...तर कम्पनी भन्छ अहिले हामी संग काम छैन / होजोमात्र कम्पनीका दुइ बंगालीलाई कोरोना पोजिटिभ भेटियो र उनीहरुलाई क्वारेन्टिनमा राखिसक्यो /तर हाम्रो कम्पनीलाई अझै हाम्रो केहि वास्ता छैन ...काम गर्न भनिरहेको छ ....मास्क र पन्जा लगाएर हिड्नु पर्छ /मास्क र पन्जा लगाउँदैमा सुरक्षित हुनेभए आज यहाँ धेरैमा कोरना भेटिने नै थिएन / साझा भान्छा छ, साझा बाथरुम छ ..अनि कसरी बच्न सक्छौं हामी ??मलाई लाग्छ - अब जुन महिना देखि त काम छैन भनेर कम्पनीले पैसा र काम दिन बन्द गर्छ होला अनि हामी के खाएर बस्ने यहाँ ? के साँचै म नेपाल फर्कन पाउँदिन अब ??नेपाल सरकारले हामीलाई फर्कने व्यवस्था गर्नुपर्छ / हामीले पनि देशविकाशमा धेरै योगदान दिएका छौं रेमिटेन्स पठाएर .....त्यसले यही आग्रह छ ..चाँडो भन्दा चाँडो उद्धार गर्न सरकार चिन्तनशील होस् /

तपाईको प्रतिक्रिया