रोमानियामा आफन्त, साथीभाइ र एजेन्सीको कुरामा भर पर्दा गैरकानुनी भइएला है !

 जेठ ३१, २०८० बुधबार १५:४८:११ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

गोपाल थापा क्षेत्री, हाल रोमानिया ।

पछिल्लो समय युरोपका देशमा रोजगारीका लागि आउन धेरैले ज्यान दिने गरेका छन् । यहाँ आउँदा केही राम्रो भविष्य होला भन्ने लोभले पनि हो ।

तर युरोप आइसकेपछि पनि सावधान हुनुपर्ने थुप्रै कुराहरू छन् । म आफैँ पनि अहिले रोमानियामा कार्यरत रहेकाले म आज यहाँ रोमानियामा धेरै साथीभाइले भोग्ने समस्याको कुरा गर्दै छु । 

रोमाननियामा ५० प्रतिशतभन्दा बढी नेपालीहरू कागजात विहीन भएर काम गर्नु परेको छ अर्थात् गैरकानुनी हैसियतमा काम गरिरहनुभएको छ । यसरी यहाँ गैरकानुनी हुने विभिन्न कारणहरू मध्ये प्रमुख कारण चाहिँ चिने जानेका साथी, एजेन्सी र आफन्त नै हुन ।

यहाँ धेरै साथीहरूले आफ्नो साथीलाई म छु भन्नुहुन्छ । कार्ड त बनोस् न म छु भन्नुहुन्छ । कतिपयले त्यहाँ भन्दा यहाँ यति बढी कमाइ हुन्छ भन्दै बोलाउनु पनि हुन्छ । थोरै बढी कमाइ हुने आसमा एउटा ठाउँ छाडेर अर्को ठाउँ जाँदा धेरै जना गैरकानुनी हुनुभएको हुन्छ ।

एक ठाउँबाट अर्को ठाउँमा काम गर्न जाँदा हामीले सोचेजस्तो हुँदै । त्यसैले तपाईँ जो कोही पनि रोमानियमा हुनुहुन्छ र कसैले यहाँ भन्दा त्यहाँ राम्रो काम र कमाइको कुरा गर्दै छन् भने काम छोड्नु अघि सोच्नुहोस् । गैरकानुनी हुन सक्ने सम्भावना त्यहीबाट सुरुवात हुन्छ ।

पछिल्लो एक वर्षयता रोमानियामा काम परिवर्तन गर्नेहरूलाई निकै गाह्रो बनाइदिएको छ । काम परिवर्तन गर्न कम्पनीले अनुमति दिन पर्ने हुन्छ र त्यो अनुमति लिएर मात्र अर्को कम्पनीमा वर्क परमिट अप्लाइ गर्न पाइन्छ । काडै बनेर अर्को कम्पनीमा गएर काम पाइँदैन । काम पाइहाले पनि केही समयमा गैरकानुनी भइन्छ । 

त्यसैले साथीभाइ र पैसा उठाउने एजेन्सीको भनाइमा विश्वास गरेर कम्पनी परिवर्तन नगरौँ । आफू जुन कम्पनीमा काम गरिरहेको छ त्यही कम्पनीमा इमानदार भएर काम गरौँ । कम्तीमा त्यो कम्पनीमा करार अवधि पूरा गरौँ । 

कार्ड बनेपछि साथीभाइले हाम्रोमा त यस्तो राम्रो छ हाम्रोमा आइज भन्छन् । साथीभाइले पनि हचुवाको भरमा बोलाइदिन्छन् । कार्ड बनाउन के के चाहिन्छ कस्तो हुन्छ भनेर तपाईँलाई भन्दैनन् ।

त्यसैले देश छाडेर अर्काको देशमा आएपछि देशको नियम अनुसार काम गरौँ । आफूले आफूलाई सुरक्षित बनाऔँ ।

तपाईको प्रतिक्रिया