१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार छ : परराष्ट्रमन्त्री श्रेष्ठ

 चैत १९, २०८० सोमबार १५:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोराेना महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका तत्काल खोल्न चिनियाँ पक्ष तयार भएको बताउनुभएको छ ।

चीनको नाै दिने भ्रमण सकेर आज स्वदेश फर्किनुभएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअघि नै सञ्चालनमा आएका र आफूले चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न आग्रह गरेको बताउनुभयो । मन्त्री श्रेष्ठले यो आग्रहलाई चीन पक्षले स्वीकारेको पनि बताउनुभयो । नाका खुला हुँदा चीनको सीमा नजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा रहेको उहाँकाे भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामबारे नियमितरूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताउनुभयो । उहाँले 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको जानकारी दिनुभयो । यसबाहेक घाँस, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको उहाँले बताउनुभयो । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको काठमाण्डौ र पोखरा तथा चीनका विभिन्न शहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको बताउनुभयो । उहाँले आउँदो वैशाख १६ र १७ गते काठमाण्डौमा हुन लागेको लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको महत्त्वपूर्ण सहभागिताका लागि अनुरोध गरेको पनि उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया