देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

 बैशाख १०, २०८१ सोमबार ८:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । अस्ति शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम 'लु' को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु' चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु' चलेको घोषणा गरिन्छ ।

यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने `लु' चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले उज्यालोलाई जानकारी दिनुभयो । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

काठमाण्डौको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज मधेश प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया