बाढी पहिरोपछि हुनसक्ने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा

 असार २४, २०८१ सोमबार १७:२६:३८ | डा.प्रकाश बुढाथाेकी
unn.prixa.net

यो बेला मनसुनजन्य रोगहरूको जोखिम पनि धेरै हुन्छ । बाढी, डुबान र पहिरोले पानीको मुहान दूषित पार्छ । यसले गर्दा पानीजन्य रोग लाग्न सक्छ । 

दूषित पानी प्रयोग गर्दा खानाजन्य रोग, श्वासप्रश्वासको रोग र पाचन प्रणालीको रोग निम्त्याउन सक्छ । विशेषगरी दूषित पानीले खाना पकाउँदा, पखाल्दा वा पिउँदा हैजा, टाइफाइड र हेपाटाइटिस जस्ता रोगहरूको जोखिम धेरै हुन्छ ।

खाना नपच्ने, ग्यास्ट्रिक हुने, झाडापखाला लाग्ने, आउँ, रगतमासी पर्नेजस्ता स्वास्थ्य समस्याहरू देखिन्छन् । पानी धेरै पर्ने वा बाढी पसेको ठाउँमा सङ्क्रमित पानीले गर्दा जन्डिस लाग्ने समस्या पनि देखिने गरेको छ । दूषित पानीले हात मुख धुन, नुहाउन, भाँडा माझ्न प्रयोग गर्दा यी समस्याहरू थप बढ्न सक्छ ।

गर्मीमा शरीरबाट धेरै पसिना बग्छ जसले शरीरमा पानीको कमी गराउँछ । पानीको कमीले शरीर कमजोर हुन सक्छ । बाढी र पहिरोका कारण खानपिन, व्यक्तिगत सरसफाइ, आरामलगायत जीवनशैलीमा असर पर्छ । यसले गर्दा शरीरमा पौष्टिक तत्त्वको कमी हुन सक्छ र कुपोषण निम्त्याउन सक्छ । दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका र अशक्त व्यक्तिको स्वास्थ्यमा बाढी र पहिरोले थप जटिलता निम्त्याउन सक्छ । बिरामीले खाइरहेको औषधी छुट्न सक्ने सम्भावना पनि देखिन्छ ।

दूषित पानीले छालाको रोग उत्पन्न गर्ने जोखिम रहन्छ । बाढी र पहिरोले गर्दा सफाइको अभावमा अन्य सङ्क्रामक रोगहरूको खतरा बढ्छ । जस्तै– स्किन इन्फेक्सन र आँखा इन्फेक्सन । यसरी बाढी र पहिरोले प्रभावित क्षेत्रका मानिसहरूको दैनिक जीवनमा गम्भीर असर पुर्याउन सक्छ, विशेषगरी स्वास्थ्य र पोषणमा ।

यस्तै बाढीको पानी जमेर बस्नाले लामखुट्टेको वृद्धि विकास हुन्छ जसले डेङ्गी, मलेरियाजस्ता रोगहरूको जोखिम उच्च बनाउँछ । यी रोगहरू बाढी प्रभावित क्षेत्रमा व्यापक रूपमा फैलिन सक्छन् । मनसुनको समयमा जमिनभित्र रहेका सर्प बाहिर निस्किने गर्छन् । बासस्थानमा पानी पस्ने भएकाले सर्पहरू बाहिर निस्किन्छन् जसले गर्दा सर्पदंशको जोखिम पनि बढ्छ ।

श्वासप्रश्वासको रोगमा रुघाखोकी, घाँटी दुख्नेजस्ता सामान्य समस्याहरूदेखि जटिल अवस्थामा निमोनियाजस्ता गम्भीर रोगहरू पनि लाग्न सक्छन् ।

पोषणसम्बन्धी समस्याहरू पनि उत्पन्न हुन सक्छन् । बाढीले अन्नबाली र खानेकुरा नष्ट गर्दा कुपोषणको समस्या बढ्न सक्छ । यस्तै घरगोठ बग्दा, परिवारका सदस्य र आफन्तको ज्यान जाँदा मानसिक समस्या पनि उत्पन्न हुन सक्छ ।

ख्याल गर्नुपर्ने कुरा

खाने, पकाउने वा पखाल्नका लागि शुद्ध पानीको प्रयोग गर्नु आवश्यक छ । जस्तोसुकै स्रोतको पानीलाई उमालेर मात्र पिउने गर्नुपर्छ जसले धेरैजसो पानीजन्य रोगहरू लाग्न दिँदैन । खाना पकाउन र भाँडा पखाल्न पनि उमालेको पानी प्रयोग गर्नु उचित हुन्छ जसले खानाजन्य समस्याबाट जोगाउन मद्दत गर्छ ।

धमिलो पानीलाई पनि छान्ने र कम्तीमा ५ देखि ७ मिनेटसम्म उमालेर पिउने गर्नुपर्छ । यसो गर्दा पानीमा रहेका जीवाणु र कीटाणु नष्ट हुन्छन् । उमाल्न नसकिने अवस्थामा क्लोरिन ट्याबलेट प्रयोग गर्न सकिन्छ अथवा सोडिस शुद्धीकरण विधि अपनाउन सकिन्छ ।

व्यक्तिगत सरसफाइमा ध्यान दिनु महत्त्वपूर्ण छ । आफ्नो घर र वरपरको वातावरण सफा राख्नुपर्छ । झाडी, पानी जम्ने ठाउँ वा फोहोर तुरुन्तै सफा गर्नुपर्छ । पानी भण्डारण हुने ठाउँ र भाँडालाई हप्तामा एकपटक सफा गर्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न उपायहरू अपनाउनुपर्छ । शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टेको भगाउने अन्य उपायहरू प्रयोग गर्नुपर्छ । यसले लामखुट्टेले सार्ने रोगहरूबाट बच्न मद्दत गर्दछ ।
व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुनपानीले नियमित हात धुने बानी बसाल्नुपर्छ  । यसले विभिन्न सङ्क्रमण र रोगहरूबाट बच्न मद्दत गर्दछ ।

यी उपायहरू अपनाएर बाढी, डुबान र पहिरोबाट हुनसक्ने स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

कुनै समस्या परे नजिकैको स्वास्थ्य संस्थामा तुरुन्तै सम्पर्क गर्नुपर्छ । लक्षणात्मक व्यवस्थापन गर्ने, जस्तै– ज्वरो आएको छ भने प्यारासिटामोल खाने । तर ज्वरो आउने र शरीर दुख्ने लक्षण देखापरे अन्य औषधि र आफैँले उपचार नगर्ने । डाक्टरको सल्लाह र परामर्शअनुसार औषधिको प्रयोग गर्ने । अनावश्यक औषधि खाँदा जटिलतासँगै ज्यानैसमेत जान सक्छ ।

रोग प्रतिरोधी क्षमता कम भएकाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, अशक्त अझ बढी सचेत रहनुपर्छ । आफन्तले पनि यस्ता व्यक्तिको हेरचाह बढी गर्नुपर्छ । कुनै व्यक्तिले नियमित सेवन गर्ने औषधि एक हप्तासम्म भण्डारण गरेर राख्नुपर्छ । यस्ता व्यक्तिले हरियो सागसब्जी, रेशादार फलपूmल, गेडागुडी र झोलिलो खानेकुरा प्रशस्त खाने गर्नुपर्छ । दुग्धजन्य पदार्थ÷वस्तु खानुपर्छ । चुरोट, सुर्ती र जाँड–रक्सी खान हुँदैन ।

पालिकाको भूमिका

पालिकाको प्रमुख जिम्मेवारी नागरिकको अवस्थाको पहिलो जानकारी लिनु हो । जब कुनै समस्या या सङ्कट उत्पन्न हुन्छ, पहिलो प्रतिकार्यको काम स्थानीय सरकारको नै हो । यसले गर्दा नागरिकको सुरक्षामा तत्काल काम गर्न सकिन्छ र आवश्यक सहायता पुर्‍याउन सकिन्छ । हरेक नागरिकको स्वास्थ्य सुरक्षाका लागि स्थानीय सरकारले आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्छ । यसमा नियमित स्वास्थ्य जाँच, उपचार र औषधि वितरणको व्यवस्था गर्नुपर्छ ।

हरेक पालिकामा स्वास्थ्यकर्मी र विज्ञहरूको द्रुत प्रतिकार्य समिति गठन गरिएको छ । यो समिति आपत्कालीन अवस्थाहरूमा छिटो र प्रभावकारी ढङ्गले कार्य गर्न सक्षम हुन्छ । स्वास्थ्य सङ्कटको समयमा यो समितिको भूमिका अझ विशेष हुन्छ ।

समितिले नागरिकलाई तत्काल सहायता पुर्‍याउन र स्वास्थ्य समस्याहरूको समाधान गर्न तत्पर रहनुपर्छ । पालिकाको सक्रियता र तत्परता नै नागरिकको स्वास्थ्य र सुरक्षाको आधार हो ।

बाढी र पहिरोको समयमा स्वास्थ्य समस्याहरूलाई रोकथाम र उपचार गर्न सचेत रहनु महत्त्वपूर्ण हुन्छ । घरायसी उपायहरू अपनाएर, समयमै स्वास्थ्य सेवा लिएर र खानपानमा ध्यान दिएर स्वास्थ्य समस्याबाट बच्न मद्दत गर्दछ । बाढी प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेर प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन सकिन्छ ।

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: साउन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा.प्रकाश बुढाथाेकी

बुढाथाेकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया