अदालतको आदेश र विभिन्न निकायको निर्देशनपछि पनि कालीगण्डकी नदीको दोहन रोकिएन

 साउन १९, २०८१ शनिबार १५:११:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

बागलुङ – अदालतको आदेश र विभिन्न निकायको निर्देशनपछि पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । म्याग्दी र बाग्लुङमा कालीगण्डकीको दोहन झन धेरै देखिन्छ । हिजो पनि रातको सवा १० बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो ।

पाँच वटा टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको थियो । कालीगण्डकीको दोहन गर्ने दिनमा सुत्ने र रातमा जाग्ने गरेर प्रहरी तथा प्रशासनलाई चुनौती दिइरहेका छन् ।

पर्याप्त प्रमाण हुँदाहुँदै पनि प्रहरी प्रशासन र स्थानीय निकाय मौन देखिएका छन् । अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० दब्ल्याङ, भाटेखोला बगरमा तीन वर्ष यता सर्वोच्चको आदेशका कारण पालिकाले ठेक्का लगाउन सकेको छैन ।

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डी दोहनले शालीग्राम शिलासमेत सङ्कटमा परिसकेका छन् । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहन भइरहेकोमा पछिल्लो समय बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला र खनियाँघाट क्षेत्रमा दोहन भइरहेको छ ।

प्रहरी चनाखो रहँदासमेत दोहन रोक्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताउनुभयो । उहाँले दोहन भइरहेको सूचना पाउना साथ परिचालन भएका प्रहरी त्यहाँ पुग्दा दोहन गर्ने भाग्ने गरेको बताउनुभयो ।

बाढी पहिरोको जोखिमका कारण असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । तर कालीगण्डकी नदीमा भने मध्य बर्खामा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहँदा प्रहरी र प्रशासनले ध्यान दिएका छैनन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया