प्रतिकूल माैसमका कारण पाेखरामा उडान स्थगित, एअर चाइनाकाे विमान 'डाइभर्ट'

 भदौ ५, २०८१ बुधबार १३:५४:० | रासस
unn.prixa.net

त्रिभुवन विमानस्थल, फाइल फाेटाे

काठमाण्डाै – प्रतिकूल मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम 'भिजिबिलिटी' का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एअर चाइनाको विमान 'डाइभर्ट' भएको छ । बिहान १० बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको याे विमान खराब मौसमका कारण डाइभर्ट भएको हो । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर 'होल्ड' भए पनि अहिले अवतरण हुन थालेका विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एअरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण हिजाे पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँकाे केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया