धादिङ, काठमाण्डौ, चितवनलगायतका जिल्लामा अति ठूलो वर्षा : भाेलिसम्मै जाेखिम

 भदौ १०, २०८१ सोमबार १८:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज दिउँसो देशका केही ठाउँमा अति ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धादिङको गजुरी र काभ्रेको पाँचखालमा पछिल्लो एक घण्टामै २३ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । धादिङको गजुरीमा राजमार्ग आसपास ठूलो पानी परेकोले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर धादिङको गजुरी आसपास त्रिशूली नदी, सिन्धुलीको मरिणखोला र आसपास, गोरखाको बारपाक र आसपास, काठमाण्डौ उपत्यकाको बाग्मती र बाग्मतीका अरू सहायक नदी, चितवनको शक्तिखोर र आसपासलगायतका क्षेत्रका साना ठूला नदीहरूमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा अति ठूलो वर्षा गराइरहेको प्रणाली रातिसम्म नै सक्रिय रहन सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उहाँले बताउनुभयो ।

भारतको गुजरात आसपास न्यून चापीय क्षेत्र बनेको छ । बङ्गालको खाडीको उत्तरी कुना झारखण्डमा एउटा र गुजरात आसपास अर्को न्यून चापीय क्षेत्र बनेको र त्यहाँबाट जलवाष्पयुक्त हावा यहाँ आइरहेको माैसमविद् झाले बताउनुभयो । यसले भोलि पनि केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

भारतीय मौसम विज्ञान विभागले भारतका गुजरात, गोवा र महाराष्ट्रमा आउँदो बिहीवारसम्म वर्षा हुने सम्भावना रहेको बताएको छ । त्यसको सिधा असर नभए पनि नेपालमा थप वर्षा गराउन सहयोगी हुने मौसमविद् झाले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया