राजस्व चुहावट नियन्त्रण गरी करमैत्री सेवा विस्तार गरिने

 भदौ १२, २०८१ बुधबार १८:१९:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व सङ्कलनकाे लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा भूमिका रहेका निकायका प्रमुखहरूको आजकाे बैठकले राजस्व सङ्कलनको लक्ष्यलाई पूरा गर्न राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको कार्यसम्पादन मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउने निर्णय गरेको हो । बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ ।

राजस्व चुहावट नियन्त्रणसम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानूनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको असहज नहुनेतर्फ सजग रहने, गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई छुट नदिने निर्णय गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

बैठकमा अर्थमन्त्री पौडेलले एउटै व्यक्ति एउटै जिम्मेवारी र ठाउँमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई हटाउन राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको 'पोस्टिङ' गर्न निर्देशन दिनुभयो । उहाँले सीमा नाकाहरूमा स्क्यानरसहितका आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानीलाई प्रभावकारी बनाउन, आयातित वस्तुको वर्गीकरण तथा मूल्याङ्कनलाई यथार्थपरक बनाउन, बजारमा बिलबिजक लिने/दिने कार्यलाई प्रोत्साहन गर्नुका साथै नक्कली बिजक वा फर्म खडा गरी हुनसक्ने राजस्व चुहावटप्रति गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिनुभयो ।

यस्तै गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर तिर्नका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया