हिमाली सौन्दर्य र संस्कृति समेटिएको चलचित्र ‘शाम्बाला’ आजदेखि

 भदौ २८, २०८१ शुक्रबार ९:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र ‘शाम्बाला’ आजदेखि प्रदर्शनमा आएको छ । हिमाली सौन्दर्य र संस्कृतिको कथावस्तुलाई समेटेर बनेको यो चलचित्र नेपाली सिनेमामा मात्र नभई अन्तर्राष्ट्रिय सिने जगतमा पनि नेपालको पहिचानलाई नयाँ उचाईमा पुर्‍याउन सफल भएको छ ।

यसअघि चलचित्र ‘कालो पोथी’ मार्फत अन्तर्राष्ट्रिय सिने बजारमा आफूलाई चिनाइसकेका निर्देशक मीनबहादुर भामको ‘शाम्बाला’ अर्को महत्त्वपूर्ण कडी बन्न पुगेको छ । ‘शाम्बाला’ले नेपालमा प्रदर्शन हुनुअघि नै २४ भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

विशेषतः बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको यो पहिलो नेपाली फिचर फिल्म बनेको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय सिनेमाको प्रमुख मञ्चमा पुर्‍याउन सफल भएको छ । यसबाहेक, स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा ‘पियाजा ग्राण्डे’ विधामा छनोट भएको तथ्यले चलचित्रको महत्त्वलाई थप उजागर गरेको छ ।

चलचित्रको प्रिमियरमा भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यपको उपस्थिति, साथसाथै नेपाली फिल्म क्षेत्रका कलाकार, नेताहरू र अरु चर्चित व्यक्तित्वहरूको सहभागिताले थप आकर्षण बढेको छ ।‘शाम्बाला’को मुख्य आकर्षण यसको छायाँकन हो, जसले नेपालको हिमाली भूभागलाई कलात्मक रूपले पर्दामा उतारेको छ ।

फिल्मले नेपालको मनोरम दृश्यहरूको प्रदर्शनसँगै बहुपतिको विवाहजस्तो अनौठो सामाजिक संरचनालाई पनि उजागर गरेको छ, जसमा एक गर्भवती महिलाको आफ्ना हराएका श्रीमानको खोजीको चुनौतीपूर्ण यात्रा देखाउन खोजिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि ‘शाम्बाला’को चर्चा व्यापक छ । हालसम्म चलचित्रलाई ४० देशका सिनेमा हलहरूमा प्रदर्शन गर्नका लागि अधिकार बिक्री भइसकेको छ । यसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम गर्दै नेपाली सिने उद्योगको क्षमता र पहुँचलाई विस्तार गरेको छ ।

चलचित्रको निर्माणमा अन्तर्राष्ट्रिय दाताहरूको विशेष सहयोग रहेको छ भने नेपाली कलाकार सोनम तोप्देन, थिन्ले ल्हामो र तेन्जिङ डल्लाको प्रमुख भूमिका रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया