देशभर झरी : केही ठाउँमा ठूलो वर्षा, नदी र खोलाहरुमा बाढीकाे जाेखिम

 असोज ११, २०८१ शुक्रबार ११:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका केही ठाउँमा निकै ठूलो पानी परेको छ । देशका सबैजसो ठाउँमा पानी परे पनि केही ठाउँमा भने निकै ठूलो पानी परेको हो ।

पछिल्लो ३ घण्टामा मोरङ र झापाका विभिन्न ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । मधेश, बाग्मती, गण्डकी र सुदूरपश्चिमका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा भएका ठाउँमा रहेका नदी र खोलाहरुमा बाढी आएको छ ।

पछिल्लो ३ घण्टामा झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमनी बिरता, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएकोले ती क्षेत्र भई बहने कन्काई, मेची, विरिङ, निन्दा र अरु स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै आज मधेश प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत लगायतका जिल्ला आसपास भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि नारायणी, बाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बाढीको जोखिम छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उहाँले बताउनुभयो । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ  ।

यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया