मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने

 असोज २१, २०८१ सोमबार ६:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेले दिनुभएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उहाँले बताउनुभयो ।

पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन हिजो बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्भावना टरेको छ ।

अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको हो । 
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया