अनि, सरकारले नौमती बजाओस् !

 मंसिर १२, २०७५ बुधबार ११:१५:५४ | मिलन तिमिल्सिना
unn.prixa.net

सरकारले मंगलबारदेखि सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम राम्रो भए पनि अनावश्यक तडकभडक र तामझाम गरेको भन्दै धेरैले आलोचना गरे । आलोचना गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘सरकार छैन भन्नेहरुलाई देखाउनकै लागि तामझामका साथ सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको हो ।’

प्रधानमन्त्री यतिमा मात्र रोकिनु भएन । उहाँले सरकारका आगामी कार्यक्रम नौमती बाजा बजाएर गरिनेसमेत बताउनुभयो । अबका योजनाहरु पनि यसैगरी तामझामका साथ गरिने उहाँको भनाई छ ।

सरकारले सिन्को पनि भाँचेन, जुम्रा पनि मारेन भन्नेहरुलाई व्यंग्य गर्दै ओलीले भन्नुभयो, ‘सरकार सिन्का भाँच्न पनि होइन, जुम्रा मार्न पनि होइन, सरकार देश बनाउनका लागि हो । यो काम सरकार गर्दैछ ।’

केही दिनमै मेलम्ची आउने, सडकमा धुलो उड्न अझै कम हुँदै जाने, कलंकी–नागढुंगा सडक मर्मत पनि छिट्टै सकिने भन्दै प्रधानमन्त्री ओलीले अब जता फर्कियो, त्यतै सरकार देखिने दावी गर्नुभयो ।

साँच्चै बजोस् नौमती !

मंगलबार सुरु भएको सामाजिक सुरक्षा योजना सरकारको ऐतिहासिक कार्यक्रम हो । वर्षौं रगत पसिना बगाएर बुढेसकालमा रित्तै हात फर्कन बाध्य श्रमिकहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् । 

सरकारले कार्यक्रम घोषणा गरेलगत्तै श्रमिकहरु उत्साहित पनि भएका छन् । मंगलबार साँझ नै काठमाडौंलगायत देशका विभिन्न ठाउँमा श्रमिकहरुले खुसीयालीमा मैनबत्ती बाले । 

सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्‍याे र श्रमिकले पेन्सनलगायतका अरु सुविधा पाउन थाले भने अहिलेको तामझामले सार्थकता पाउँछ । श्रमिकले सामाजिक सुरक्षा योजनाबाट फाइदा लिन थालेको दिन सरकारले नौमती बाजा बजाओस् ।

तर उत्साहसँगै आशंका पनि कायमै छ । सामाजिक सुरक्षा योजना कसरी कार्यान्वयन हुन सक्ला भन्ने चिन्ता छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगारलाई यो योजनामा समेट्न तथा कोषको व्यवस्थापन र परिचालनमा चुनौती देखिन्छ । 

यी सबै चुनौती पार गर्दै सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्‍याे र श्रमिकले पेन्सनलगायतका अरु सुविधा पाउन थाले भने अहिलेको तामझामले सार्थकता पाउँछ । श्रमिकले सामाजिक सुरक्षा योजनाबाट फाइदा लिन थालेको दिन सरकारले नौमती बाजा बजाओस् ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंमा मेलम्चीको पानी आउँछ भन्नुभएको छ । तर मेलम्चीको दिनगन्ती पर्खंदापर्खंदा काठमाडौंका बासिन्दा वाक्क भैसकेका छन् । गएको वैशाखमै आउँछ भनेको, आएन । दसैँमा आउँछ भनियो, आएन । अब चाहिँ प्रधानमन्त्रीले भनेको ‘छिटो’ ढिलो नहोस् । काठमाडौंका बासिन्दाले मेलम्चीको पानी पिउन थालेको दिन सरकारले नौमती बजाओस् ।

प्रधानमन्त्रीले मंगलबारको कार्यक्रममा काठमाडौंका सडकमा धुलो कम उड्न थालेको र अब काठमाडौं सफा हुने पनि बताउनुभएको छ । तर धुलो केही कम भए पनि नाकमुख थुनेर हिँड्नुपर्ने बाध्यता हटेको छैन । सडकमा अझै खाल्डाखुल्डी, फोहोर र जामले यात्रु हैरान छन् । प्रधानमन्त्रीले भनेजस्तै काठमाडौंका सडकमा हिँड्दा नाकमुख थुन्न नपरोस् । खाल्डाखुल्डी देख्न नपरोस् । घण्टौं जाममा बस्नु पर्ने बाध्यता हटोस् । यस्तो भएको दिन सरकारले नौमती बजाओस् ।

प्रधानमन्त्रीले भनेजस्तै कलंकी–नागढुंगा सडक मर्मतको कामले तीव्रता पाएको छ । तर अझै पनि यो सडकखण्डक पार गर्न सास्ती व्यहोर्नुपर्छ । यसअघि नै सकिनुपर्ने मर्मतको काम लम्बिएको छ । कलंकी–कोटेश्वर सडकखण्डको काम चाहिँ सकिन लागेको छ । कलंकी–कोटेश्वर, कलंकी–नागढुंगासहित अरु सडकखण्डमा यात्रुले भोग्नुपर्ने बाधा र सास्ती अन्त्य भएको दिन सरकारले नौमती बजाओस् ।

यी त भए प्रधानमन्त्रीले जता हेर्‍याे त्यतै सरकार देखिन्छ भनेर मंगलबार जनाउनुभएको प्रतिबद्धता । तर प्रधानमन्त्रीले नभनेका, तर तत्काल गर्नुपर्ने अरु धेरै काम बाँकी छन् । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा समेत हत्यारा अझै पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता लगाउन माग गर्दै धर्नामा बसेका उनका बुवा मानसिक स्वास्थ्य समस्याले अस्पताल भर्ना भएका छन् । हत्या, हिंसा, बलात्कार र अराजकता जस्ता आपराधिक घटनाले अरु ठाउँका नागरिक पनि पीडित छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न र समाजमा हत्या, हिंसा, बलात्कार र अरु आपराधिक घटना रोक्न सफल भएको दिन सरकारले नौमती बजाओस् । 

प्रधानमन्त्रीले जता हेर्‍याे त्यतै सरकार देखिन्छ भने पनि नागरिकले धेरै ठाउँमा सरकार देख्न पाएका छैनन् । बजारमा महंगी र कालोबजारी बढिरहेकै छ । सरकारी अड्डामा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार उस्तै छ । सरकारले महंगी, कालोबजारी, ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई जरैदेखि उखल्न सकेको दिन नौमती बजाओस् ।

यस्तै विकास निर्माणका धेरै काम अड्किएर बसेका छन् । मेलम्चीको पानी छिट्टै आउँछ भने पनि प्रधानमन्त्रीले मध्यपहाडी लोकमार्ग, रेलमार्ग, विमानस्थललगायतका अरु महत्वपूर्ण आयोजनाहरुको बारेमा बोल्न भ्याउनुभएको छैन । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा मुआब्जाको विवादले निर्माणको काम अघि बढ्न सकेको छैन । ठूला विकास निर्माणका कामले गति लिन थालेपछि सरकारले नौमती बजाओस् ।

विदेसिएका युवा नेपाल नै फर्केर आफ्ना पसिनाले यहीँको माटो सिंचेर खुसी हुने वातावरण सिर्जना भएपछि सरकारले नौमती बाजा बजाओस् ।  

सरकारको प्राथमिकतामा वैदेशिक रोजगारीको अन्त्य र स्वेदशमै रोजगारी सिर्जना गर्ने भन्ने छ ।  तर झट्ट हेर्दा तत्काल त्यो पूरा हुने संकेत छैन ।  तर पनि दृढ संकल्पका साथ सरकार अगाडि बढ्ने हो भने त्यो पनि असम्भव छैन । हो, विदेसिएका युवा नेपाल नै फर्केर आफ्ना पसिनाले यहीँको माटो सिंचेर खुसी हुने वातावरण सिर्जना भएपछि सरकारले नौमती बाजा बजाओस् ।  

प्रधानमन्त्रीले केही दिनअघि मात्रै सबै मन्त्री र मन्त्रालयको कामको समीक्षा सक्नुभएको छ । प्रायः सबै मन्त्रालयको प्रगति निराशाजनक र विकास खर्च कम देखियो । अब सबै मन्त्रालयले आफू मातहतका कामलाई आशालाग्दो ढंगले अघि बढाएको र परिणाम देखाएको दिन सरकारले नौमती बजाओस् ।

दुई तिहाईको बलियो सरकारले नौ महिना बितिसक्दा समेत केही गर्न सकेन भनेर नागरिक निराश छन् । अहिलेसम्म जे भयो भयो, अब साँच्चै ‘गियर’ बदलेर सरकारले काम गर्छ कि भन्ने आश चाहिँ बाँकी नै छ । जीवितै रहेको यो आशालाई बलियो बनाउँदै सरकारले यसअघि गरेका घोषणा, वाचा र कार्यक्रमअनुसार नागरिकले महसुस गर्ने गरी काम गरोस् । 

दूरदराजमा रहेका सम्पूर्ण नेपालीको पीडामा मल्हम लगाउन सकेको दिन सरकारले नौमती बजा बजाओस् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा व्यवहारमा देखिन थालेको दिन सरकारले नौमती बजाओस् । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया