अध्यादेशप्रति प्रधानमन्त्री ओली– ‘कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन’

‘रवि लामिछानेलाई कसैकाे दबाब वा आग्रहमा पक्राउ गरिएकाे हाेइन’

 कात्तिक ६, २०८१ मंगलबार ६:३४:२४ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे विपक्षी दलकाे ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे भन्नुभयो, ‘विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’

यस्तै प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको स्पष्ट गर्नुभयो ।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’, उहाँले भन्नुभयो, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्ट बाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।’

यस्तै प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी पहिरो र डुबानका घटनापछिको राहत र पुनर्स्थापनामा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्न सहमति भएकाे छ । प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाको खोजी कार्य जारी रहेको, बेलिब्रिजसमेत मगाएर राजमार्ग सञ्चालनमा ल्याइएको जानकारी दिँदै यस्ता विषयमा राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया