विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने

 कात्तिक ८, २०८१ बिहीबार १२:१५:२४ | रासस
unn.prixa.net

तस्बिर : रासस

वाशिङ्टन डीसी (अमेरिका) – विश्व बैंकले नेपालमा रोजगारी सिर्जना तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा वाशिङ्टन डीसीमा रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकका दक्षिण एशिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटवार्ता नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित रहेको हो ।

अमेरिकामा रहेको नेपाली दूतावासका अनुसार नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सिर्जना गर्नेबारेमा छलफल भएको छ ।

यस्तै विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ । उपप्रधान एवम् अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एशिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताका लागि स्रोत परिचालन गरिने उल्लेख छ ।

यस्तै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र एशियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिगमिन यागबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा एशियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।

यस्तै पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया