डेङ्गी नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारसहित सरकारी कार्यालय परिसरमा सरसफाइ

 कात्तिक ९, २०८१ शुक्रबार १४:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ऊर्जामन्त्री खड्का सरसफाइ अभियानमा सहभागी हुँदै । तस्वीर : रासस

काठमाण्डाै – डेङ्गी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले आज सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयको परिसरमा सरसफाइ गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लामखुट्टेको लार्भा मार्ने विशेष अभियानको शुरुआत भएको छ ।

डेङ्गी नियन्त्रणका लागि सरकारले शुरू गरेको देशव्यापी अभियानअन्तर्गत आज मुख्यसचिव एकनारायण अर्यालले कार्यक्रमको औपचारिक रूपमा शुरुआत गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशमा गरिएको अभियानले सरकारी कार्यालय मात्र नभई देशव्यापी रूपमा डेङ्गी नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको मुख्यसचिव अर्यालले बताउनुभयो ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीहरूले आज बिहान रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छर्नेलगायतका काम गरेका हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले डेङ्गी नियन्त्रण गर्न देशभरका सरकारी कार्यालयमा सरसफाइ अभियान चलाउने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आज मन्त्रालयको परिसरमा भएको सरसफाइमा सहभागी हुनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायमै रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले हरेक शुक्रवार बिहान १० बजे ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा पालिका, कर्मचारी, सरोकारवाला तथा सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियन्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइमा ध्यान दिन, पानी जम्ने ठाउँ र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी लामखुट्टेका लार्भा र प्यूपा नष्ट गर्न आग्रह गर्नुभएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यस वर्ष अहिलेसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ जना पुगेको छ । देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ । काठमाण्डौ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या धेरै छ । अहिलेसम्म डेङ्गीबाट ११ जनाले ज्यान गुमाएका छन् ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया