काभ्रेमा बाढीपहिरोले पुर्‍याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन

 कात्तिक १३, २०८१ मंगलबार १२:३०:५८ | रासस
unn.prixa.net

तस्बिर : रासस

काभ्रेपलाञ्चोक – बाढीपहिराले काभ्रेमा जनधनको ठूलो क्षति पुर्‍याएको एक महिना भयो । गएको असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् ।

जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित  एक अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने तहमा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गएको हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलनकार्य शुरु गरिएको छ ।

धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवम् शहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएकाे छ ।

धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्‍याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । विपद्ले नगरभित्र पुर्‍याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताउनुभयो ।

काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । छ जना अझै बेपत्ताको अवस्थामा रहेका छनभने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो ।

अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणानुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छभने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा त्यही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

यस्तै बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडक खण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छभने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । अहिले खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ ।

यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छभने ३८ वटाको सामान्य मर्मत गरिएको छ । सिँचाइका ९६ वटा आयोजनामा २१ करोड ५० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छभने ३६ तटबन्धको योजनामा २० करोड रुपैयाँको क्षति भएको छ ।

यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भीक क्षतिको विवरणानुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ । यस अयोजनामा १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी  चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

तेमाल बृहत् खानेपानी आयोजनामा आठ करोड रुपैयाँको क्षति तथा जिल्लामा सञ्चालित करिब एक सय खानेपानी आयोजना गरी करिब एक अर्ब रुपैयाँको क्षति पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । दश तहमा सात सय ७४ विद्युतका एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार एक सय ४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले सात हजार एक सय ३० परिवार प्रभावित भएका छन् । दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी छ हजार तीन सय ७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ ।  कुल उत्पादनमा ४२ करोड ६३ लाख रुपैयाँको क्षति पुगेको जनाइएको छ ।

१२ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको पशुपन्छीको  क्षति भएको अनुमान गरिएको छ । एक सय ७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ ।
 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया