‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङगाना’

 मंसिर ३, २०८१ सोमबार ८:३:११ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।

नेपालको  बहुदलीय व्यवस्था, लोकतन्त्र र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने उहाँले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

तत्कालीन उपसभामुख एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, ‘जसको बहुमत हुन्छ, सरकार उसैकोे हुन्छ, प्रतिपक्षभएन भने उसले आफ्ना कुरा संसद्मा कसलाई सुनाउने ? विपक्षको पनि स्थान संसदीय व्यवस्थामा वैधानिक र निश्चित हुन्छ । प्रतिपक्षविना संसद् चल्न सक्दैन । त्यसै सन्दर्भमा ढुङ्गानाजीले सधैँजसो सत्ता पक्षको सरकार तथा प्रतिपक्षको सदन भन्नुहुन्थ्यो ।’

वि.सं.२०४८ देखि ५१ सम्म ढुङ्गाना सभामुख र लोसपाका हालका अध्यक्ष ठाकुर उपसभामुख हुनुहुन्थ्यो । पूर्वसभामुख ढुङ्गानालाई सम्झँदै उहाँले भन्नुभयो, ‘उहाँ बडा असल व्यक्ति हुनुहुन्थ्यो । हामी दुवै एक अर्कामा पर्याप्त छलफल गरी सदन सञ्चालन गथ्यौँ ।’

सरकार माओवादीबीचको शान्ति वार्तामा पूर्वसभामुख ढुङ्गानाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका संविधान र कानुनका ज्ञाता ढुङ्गाना २०४८ सालमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसै बखत संसदीय व्यवस्था र मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो ।

वि.सं.१९९८  माघ १७ गते पिता केदारनाथ ढुङ्गाना र मातालक्ष्मीदेवी ढुङ्गानाका ज्येष्ठ सुपुत्रका रुपमा काठमाण्डौ ओमबहाल जन्मनुभएका दमननाथको बाल्यकालको पढाइ भक्तपुरमा भयो । प्रवेशिका परीक्षा भने उहाँले काठमाण्डौ पद्मोदय माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो ।

त्रिभुवन विश्व विद्यालय विद्यार्थी युनियनका निर्वाचित उपाध्यक्ष, पछि अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका ढुङ्गानाले त्यसबेला उपत्यकाव्यापी विद्यार्थी सम्मेलन र राष्ट्रव्यापी विद्यार्थी सम्मेलन तयारी समितिका सदस्य वरिष्ठ अधिवक्ता ढुङ्गाना नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

वि.सं.२०१४ को भद्र अवज्ञामा सहभागी ढुङ्गानाले २०१७ सालदेखि स्वतन्त्रता, बहुदल र मानवअधिकारका पक्षमा अविरल र अथक आवाज उठाइरहनुभयो । सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागिरहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित हुनुभयो ।

नेपाल बार एसोसिएशन र सर्वाेच्च बारएसोसिएशनको पटकपटक सचिव  हुनुभएका ढुङ्गाना सर्वाेच्च बारएसोसिएशनको अध्यक्षसमेत हुनुभयो । नेपाली कांग्रेस केन्द्रीय परामर्श समिति सदस्यका अतिरिक्त ढुङ्गानाको जीवनको अर्काे परिचय असल गद्य लेखक पनि हो । काठमाण्डौ बत्तीसपुतली–गौशाला निवासी ढुङ्गानाले त्रिभुवन विश्वविद्यालयबाट एमए र बीएल गर्नुभएको थियो ।

यसैबीच, वरिष्ठ अधिवक्ता ढुङ्गानासँगै ३० देखि ४० को दशकमा करिब १४ वर्ष एउटै कार्यालयमा बसेर वकालत गर्नुभएका पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादव भन्नुहुन्छ, ‘ढुङ्गानाजी बौद्धिक र अध्ययनशील पेसाप्रति इमान्दार निष्कलङ्क व्यक्ति हुनुहुन्थ्यो ।’

पूर्वसभामुख ढुङ्गानाको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा हिजो दिउँसो १ः३० बजे निधन भएको हो । उहाँ कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज सोमवार ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा दुई घण्टा राखिने र त्यसपछि आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया