ग्लोबल आईएमई बैङ्क लिमिटेडको १८ औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैङ्किङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

 पुष १९, २०८१ शुक्रबार ७:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आईएमई बैङ्क हिजोदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा हिजो भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आईएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने  बताउनु भयो ।

उहाँले भन्नुभयो ‘अहिलेको  बैङ्किङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अङ्गिकार गर्ने हो ।,’

बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उहाँको भनाइ छ ।

यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो । उहाँले बैङ्कले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैङ्किङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैङ्कमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरुलाई सम्मान

त्यस्तै ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैङ्कका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैङ्कमा सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।

ग्लोबल आईएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रुपमा सम्मानित बैङ्क हो ।  बैङ्कले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैङ्किङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा धेरै सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया