चिडियाखाना अब बेलुका ८ बजेसम्म खुल्ने

 चैत २८, २०८१ बिहीबार १५:५:७ | रासस
unn.prixa.net

काठमाण्डाै – ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

चिडियाखानाले आज काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नागरिककाे माग अनुसार आउँदाे वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।’ चिडियाखाना अहिले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि भक्तपुरकाे सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधान अनुसार आवश्यक काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो । साथै उहाँले आफू मेयर भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनराेत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

कोषका सदस्य सचिव डा. नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उद्देश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताउनुभयो । उहाँले सेवाग्राहीको चाहना अनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्का र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संवर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया