पानीले देशभरको डढेलो निभाउँदै, वायु प्रदूषणमा सुधार

 चैत २८, २०८१ बिहीबार १५:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । हिउँद सुक्खा भएको र प्रि–मनसुनमा समेत पानी पर्न नसकिरहेको अवस्थामा हिजोदेखि भने देशका सबैजसो ठाउँमा पानी परेको हो । केही ठाउँमा अत्यधिक वर्षासमेत भएको छ ।

इलाममा पछिल्लो १२ घण्टामै १० मिलिमिटर पानी परेकाे छ । यस्तै १२ घण्टामा सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कीर्तिपुरमा पनि १२ घण्टामा २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेसँगै नेपालमा पानी परेको र यो प्रभाव आउँदो शनिवारसम्म रहने पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो ।

अहिलेको पानी परेपछि मकै, तरकारीलगायतको खेतीका लागि सहयोगी भएको किसानहरू बताउँछन् । अलैँची, सुन्तलालगायतका नगदेबालीको सिँचाइका लागि पनि यो वर्षा महत्त्वपूर्ण भएको छ ।

कृषिमा सिँचाइसँगै यो वर्षाले डढेलो र वायु प्रदूषण गरी दुई वटा ठूला विपद्को जोखिमलाई घटाएको छ । नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टरको तथ्याङ्कानुसार सोमवार देशका दुई सय १४ ठाउँमा डढेलो लागेकोमा पानी पर्न शुरू भएसँगै मङ्गलवार ५२ र हिजो ६० ठाउँमा मात्रै डढेलो लाग्यो । अहिले नौ ठाउँमा मात्र डढेलो देखिएको छ । पानी कम परेको पश्चिम तराईमा मात्रै डढेलो देखिएको हो भने बाँकी ठाउँमा निभेको छ ।

यस्तै एक हप्ताभन्दा बढी समयदेखि उकुसमुकुस बनाइरहेको वायु प्रदूषण पनि घटेको छ । देशका अरू ठाउँको वायु प्रदूषण अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ भने काठमाण्डौ उपत्यकामा पनि अति अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ । तर अहिलेको पानीले वायु प्रदूषण केही घटाए पनि यो दीर्घकालीन समाधान नभएको पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्याय बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया