प्रधानमन्त्री ओलीद्वारा आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा

‘बिहान उठ्नेबित्तिकै नेपाली साबुनले हात धुने वातावरण बन्नुपर्छ’

 चैत २८, २०८१ बिहीबार १७:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घकाे ५९औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पत्तिमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने उल्लेख गर्नुभयाे । उहाँले कृषि जीविकामुखी भनिए पनि अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको भन्दै परम्परागत शैलीहरूमा फेरबदल आउनुपर्ने बताउनुभयो ।

कानूनहरू मन्त्री र सचिवहरूलाई नभई किसानलाई चाहिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘निजी क्षेत्रले सिर्जना गरेका रोजगारीहरू राष्ट्रका रोजगारीमा गणना गरिन्छन् । निजी क्षेत्रले जे उत्पादन गर्छ त्यो राष्ट्रको उत्पादनमा गणना हुन्छ । त्यस कारण हाम्रा प्रयासहरू राष्ट्रिय हुनुपर्छ । उत्पादन बढाउने कानून आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले अहिले डिपार्टमेन्टर स्टाेरहरू बढी चल्न थालेका र शटरहरू चल्न छाडेका सुनाउनुभयाे । उहाँले भन्नुभयो, ‘अब डिपार्टमेन्टल स्टाेहरू बढी चल्छन्, शटरहरु चल्दैनन् । एक ठाउँमा गएपछि सबै कुरा पाइने । सबै कुरा सिस्टमेटिक हुने भएकाले मान्छे त्यता लाग्छन् ।’

अब समूह र ठूला प्रयासहरूबाट मात्रै कृषिमा अघि बढ्न सकिने अवस्था आएको प्रधानमन्त्रीले बताउनुभयाे । सहकारीमा जोडिएर ठूलो खेती, ठूलो उत्पादनमा जानैपर्ने र त्यसरी उत्पादन बढाएर देशको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजान सकिने उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल विकास कम्पनी लिमिटेड शुरुआत गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो । ठूलो मात्रामा उत्पादन हुनसक्यो भने निर्यात वृद्धि हुने, निर्यात बढ्न थालेपछि प्रतिस्पर्धी क्षमता बढ्न थाल्ने तथा नेपालीले राष्ट्रिय गौरव, स्वाभिमान गर्न पाउने अवस्था बन्ने उहाँकाे बुझाइ रहेको छ ।

प्रधानमन्त्री ओलीकाअनुसार बिहान उठ्नेबित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउने, नेपाली साबुनले हात धुने, नेपाली श्याम्पूले नुहाएर सफा बन्ने वातावरण बन्नुपर्छ । उहाँले भन्नुभयो, ‘घन पिटीपिटी फाली बनाउन जान्याैँ तर सजिला सजिला कुरा बनाउन सकेनौँ । प्रविधितिर ध्यान नदिने, प्रविधिको विकास नगर्ने प्रवृत्ति देखियो । अब आफैँले प्रविधि विकास गर्नुपर्छ ।’

प्रधनमन्त्री ओलीले एकद्वार प्रणालीलाई कडाइका साथ पालना गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा डिजिटल नेपालको अवधारणा ल्याएको बताउँदै उहाँले अहिले सरकारले त्यसलाई कार्यान्वयनमा लगेको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया