दाउन्नेमा सडक एकतर्फी खुले पनि गाडी अझै जाममा, यात्रुको बिचल्ली

 चैत २९, २०८१ शुक्रबार १४:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो ।

अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा आज लामो समयदेखि गाडी रोकिएका कारण दिउँसो काम रोकेरै गाडी चलाएको उहाँले बताउनुभयो ।

दाउन्नेमा चिप्लो बाटोका कारण गएरातिदेखि गाडी चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् ।

बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । दाउन्नेदेखि पश्चिम झन्डै चोरमारासम्म २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको छ । दुई दिन सिमसिम पानी पर्दैमा दाउन्नेमा हिलोले बिचल्ली भएपछि वर्षायाममा अवस्था के होला भन्ने चिन्ता बढेको छ ।

नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार दाउन्ने खण्डका माटोको बनोटका कारण सुक्खायाममा धूलो थुप्रिने र पानी पर्नेबित्तिकै हिलो हुन्छ । गाडी त्यही दबदबे हिलोमा गाडिन पुग्छन् । १३ किलोमिटर खण्डमा यस्तो जटिलता रहेको उहाँले बताउनुभयो । याे खण्डमा ग्राभेल गर्ने काम भइरहेकोले वर्षायाममा केही सहज हुने आशा रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया