सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

 वैशाख १, २०८२ सोमबार १५:२:४३ | रासस
unn.prixa.net

फाइल तस्वीर

कञ्चनपुर – देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाइँदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ ।

देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिएको हेमराज पाण्डेयले बताउनुभयो ।

बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ, उहाँले भन्नुभयो, देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने बिस्तारै हराउँदै गएको छ ।

उहाँका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको छ । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।

यस अवसरमा बूढापाका गङ्गास्नानका लागि भारतको हरिद्वारलगायतका प्रसिद्ध धार्मिक क्षेत्रमा स्नानका लागि जाने चलन पनि पुरानै रहेको पाण्डेयले बताउनुभयो । भारतलगायत अन्य क्षेत्रमा काम विशेष र रोजगारीका लागि गएका घर फर्कने भएकाले परिवारमा रौनकता छाउने गर्दछ ।

अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरूले पुतला खेल (नाच) देखाउने गर्दछन् । बिसुमा पुतला नाच देखाउने कार्य पुस्तौंदेखि चल्दै आएको अमरबहादुर साउदले बताउनुभयो । पुस्तौंदेखि चल्दै आएको पुतला नाच भने बिस्तारै लोप हुँदै जान थालेकाले यसलाई जोगाउनका लागि युवापिँढीलाई अग्रसर गराउनुपर्ने उहाँको भनाइ रहेको छ । यसै पर्वका अवसरमा शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ ।

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ । बसाइँ सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया