विषम मौसमी घटना बढेकाले सचेत रहन आग्रह

 चैत २९, २०८१ शुक्रबार १८:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

हावाहुरीले तानसेन महोत्सवमा क्षति । तस्वीर : रासस

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने सडक २१ घण्टापछि खुलेको छ । वर्षाले हिलाम्मे भएर अवरुद्ध भएको सडक खुलाउन लामो समय लाग्दा यात्रुहरूको बिचल्ली भयो । बुटवल–नारायणगढ सडक खण्डको जङ्गल क्षेत्रमा गाडी रोकिएका कारण यात्रुले पानीसमेत खान पाएका थिएनन् । सडकमै झन्डै २० किलोमिटर लामो लाइन लागेको थियो । अहिले बिस्तारै गाडी पार भइरहेका प्रहरीले जनाएको छ ।

यसैबीच आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि पनि धेरै ठाउँमा बादल लागेर केही ठाउँमा वर्षाको सम्भावना छ । पर्सिदेखि पानी पर्ने क्रम रोकिए पनि तत्काल सबै ठाउँमा आकाश खुल्ने सम्भावना कम छ ।

यस पटक केही दिन मौसम बदली र वर्षा हुँदा विपद्का धेरै घटना भएका छन् । चट्याङ लागेर दुई दिनमै नौ जनाको ज्यान गयाे । पहिरोले १० भन्दा बढी ठाउँमा सडक अवरुद्ध भयाे । उदयपुरमा निर्माणाधीन पक्की पुल नै भत्कियो । हावाहुरीले पनि धेरै क्षति गरेको छ ।

प्रि–मनसुनमा यस्ता घटनाहरू हुने गरेका भए पनि केही वर्षदेखि मौसम थप विषम बन्दै गर्दा विपद्का घटनाहरू बढेका विपद् विज्ञहरू बताउँछन् । चैत र वैशाख महिनामा पानी पर्ने, आकाश गर्जिने र हावाहुरी आउने भएका कारण मानवीय र भौतिक क्षति हुने गरेको विपद् जोखिम न्यूनीकरण विज्ञ डाक्टर वसन्तराज अधिकारीले बताउनुभयो । तर पछिल्लो समयमा विपद्का घटनाको प्रकृति फरक भएको र त्यसले गर्ने असर पनि बढी देखिन थालेको उहाँका भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोख्रेल पनि हिउँदमा वर्षा कम र तापक्रम बढी भएकाले चट्याङलगायतका घटना बढी हुने जोखिम बढेको बताउनुहुन्छ । केही वर्षदेखि मौसम थप विषम बन्दै गएकोले त्यहीअनुसार पूर्वतयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

विषम अवस्थालाई ख्याल गरेर सरकारले पूर्वतयारी गर्नुपर्नेमा दुई दिन सिमसिम पानी पर्दैमा मुख्य राजमार्ग २१ घण्टासम्म अवरुद्ध हुने अवस्थाले गर्दा चिन्ता झनै बढाएको विज्ञहरू बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया