आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने

 वैशाख २, २०८२ मंगलबार १२:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्दोलनरत शिक्षकहरूले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्रै वार्ता गर्ने भएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बसेर समस्या समाधान नभएको भन्दै अब प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने बताउनुभएको हो ।

यसअघि शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका अधिकारीहरूलाई पत्रमार्फत आफ्ना माग र सम्बोधनबारे सुझावसहित जानकारी गराएको तर कसैको ध्यानाकर्षण नभएकोले शिक्षा मन्त्रालयसँगको वार्ता औचित्यहीन भएको महासङ्घको भनाइ छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू गएकाे १४ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले यस पटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन लिएर मात्र फर्कने बताउँदै आएका छन् ।

महासङ्घले देशैभर विद्यालयमा अनुगमन भइरहेको भन्दै आन्दोलनमा अहिलेसम्म नआएका शिक्षकहरूलाई अनिवार्य आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।

यसैबीच सरकारले नयाँ शैक्षिकसत्र २०८२ को विद्यार्थी भर्ना अभियानमा लाग्न देशभरका विद्यालय र पालिकालाई निर्देशन दिए पनि महासङ्घले अभियान बहिष्कार गर्ने निर्णय गरेको छ ।

शिक्षक आन्दोलनले देशभरका ७० लाख बालबालिकाको भर्ना तथा पढाइ प्रभावित हुने भएको छ । शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका नजाँच्ने, कक्षा १२ को परीक्षा तयारी नगर्नेलगायतका कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया