शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै

 वैशाख ८, २०८२ सोमबार ९:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ ।

आज पनि बिहानैदेखि छलफल भएको समिति सचिव दशरथ धमलाले जानकारी दिनुभयो । विधेयकमाथि दफाबार छलफल गर्न समितिले निश्चित समय तोकेर चैत ८ गते ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

सबै दफामा सहमति जुटाउन ३५ दिनको समय पाएको उपसमितिसँग अब १४ दिन बाँकी छ । विधेयकमा रहेको १६३ दफामध्ये अहिलेसम्म एक सय दफामा छलफल भएको छ । तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा छलफल भइरहेको छ । छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका र महत्त्वपूर्ण पनि रहेकाले धेरै छलफल गर्नुपर्ने र विधेयक पारित हुन समय लाग्ने शिक्षा समितिका सचिव दशरथ धमलाले बताउनुभयो ।

सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । यही अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । जतिसक्दो छिटो टुङ्ग्याउने भन्दै विधेयकमाथि निरन्तर छलफल भइरहेको समितिको भनाइ छ ।

कानून निर्माण गर्ने कुरामा हतार गर्न नहुने र सबै काम संसदीय प्रक्रिया पूरा गरेर हुने भएकाले आन्दोलन गरेर मात्रै छिटो काम नहुने समितिका सचिव धमलाको भनाइ छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु २० दिनदेखि सडक आन्दोलनमा छन् । आज पनि आन्दोलाका लागि शिक्षकहरु बिहानैदेखि माइतीघरमा जम्मा भइसकेका छन् ।

शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण शिक्षामा गम्भीर असर परेको भन्दै अभिभावक सङ्घ नेपाल र अभिभावक महासङ्घले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

सरकारले माग पूरा गर्नको लागि सहमतिपत्र तयार पारे पनि शिक्षकहरु विश्वस्त हुन सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया