सेवाग्राहीले गाउँपालिकाको ताला काटेर खोले कार्यालय

 पुस १५, २०७५ आइतबार १४:२२:५१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको विकट पाविल हिमालको फेदमा रहेको रुबीभ्याली गाउँपालिकाको कार्यालय धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राखिएको छ ।

दुर्गम र विकट क्षेत्रका नागरिकले आफ्नै ठाउँमा सेवा–सुविधा पाउनुपर्ने भएपनि कर्मचारीको फाइदाका लागि गाउँपालिकाको कार्यालय सदरमुकाममा राखिएको बुझिएको छ । आफ्नै ठाउँमा सेवा–सुविधा पाउनुपर्ने स्थानीयवासीले पहिलाजस्तै सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छैन । अझ स्थानीय तहमा राख्ने कार्यालय सदरमुकाममा राख्दा पनि सेवाग्राही आउँदा कार्यालयमा कर्मचारी नभेटिने गरेको सेवाग्राहीको गुनासो छ ।

आइतबार रबीभ्याली गाउँपालिकाको कार्यालय अगाडि सेवाग्राहीको भिडनै लागेपनि कार्यालय नखुलेपछि सामाजिक परिचालकलाई राखेर स्थानीयवासीले नै कार्यालयको ताला काटेका छन् । जन्म दर्ता, विवाह दर्ता, सिफारिसलगायतका सेवा लिन सेवाग्राहीहरु बिहानैदेखि कार्यालयमा आएपनि कर्मचारी नभएपछि कार्यालय अगाडि भिड लागिसकेको थियो ।

धादिङको विकट पाविल हिमालको फेदमा रहेको रुबीभ्याली गाउँपालिका कार्यालय धादिङबेसीको भित्री गल्लीमा राखेर पनि कर्मचारी र जनप्रतिनिधि समेत नभेटिँदा टाढाबाट आएका सेवाग्राही समस्यामा परेका हुन् । उसै त विकट क्षेत्रबाट आएका सेवाग्राही, त्यसमा पनि कार्यालयमा आउँदा समयमै कार्यालय नखुलेपछि उनीहरु आक्रोशित भएका थिए । कार्यालय अगाडि सेवाग्राहीको भिड लागिसक्दा समेत कार्यालय नखुलेपछि गाउँपालिकाका सामाजिक परिचालक राखेर सेवाग्राहीले कार्यालयको ताला काटेर कार्यालय खोलेका थिए । एकजना सामाजिक परिचालक र सेवाग्राही मिलेर कार्यालयको ताला काटिएको थियो ।

सुरक्षाको कारण देखाउँदै गाउँमा राख्नुपर्ने गाउँपालिकाको कार्यालय सदरमुकाममा सञ्चालन गरिएको हो । सदरमुकाममा भाडाको घरमा राखेर कार्यालय सञ्चालन गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुख धेरै समय काठमाडौंतिर बस्ने र कर्मचारी समेत कार्यालयमा नआउँदा गाउँपाकिलाको कार्यालयमा नै ताला लागेको हो ।

गाउँपालिकाका प्रमुख केरङ तामाङ र उपप्रमुख देमाया तामाङ प्रायः काठमानडौंमै बस्ने गरेको स्थानीयवासीले बताएका छन् । उनाीहरु कहिलेकाही मात्रै गाउँमा जाने गरेको स्थानीयवासीको गुनासो छ । ६ वटा वडा रहेको रुबीभ्याली गाउँपालिकामा एकजना वडा सचिव मात्रै रहेका छन् । तर वडा सचिव पनि कार्यालयमा भेटिँदैनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमबहादुर खत्री पनि बच्चा बिरामी भएको भन्दै गएको एक हप्तादेखि काठमाडौंमै रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।  वडा सचिव भने बिदामा बसेका बताइएको छ ।

गाउँपालिकामा सेवा लिन गाउँवासी तीन दिनको बाटो हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता छ । तर  तीन दिनको बाटो हिँडेर गाउँपालिकाको कार्यालय आए पनि काम नहुँदा समस्यामा पर्ने गरेको सेवाग्राही सुक तामाङले बताउनुभयो ।

६ वडामा एक जनामात्र वडा सचिव रहेको, सुरक्षा नभएको, गाउँमा बैंक नभएको, सडक र सञ्चार नभएको, विद्युत सेवा नभएकोले सदरमुकाममै गाउँपालिकाको कार्यालय राख्नु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमबहादुर खत्रीले बताउनुभयो ।

सबै काम अनलाइनबाट गर्ने भनेर सुबिसू को इन्टरनेट गाउँमा राखिए पनि नचल्ने, बैँक अफ काठमाडौंले रुबीभ्यालीमा कार्यालय राखेर काम गर्ने भनेर सरकारसँग सम्झौता गरेको लामो समय भइसक्दा पनि बैँक गाउँमा नगएको र सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको कर्मचारीहरुको गुनासो छ । 

गाउँपालिकाले प्राविधिक कर्मचारी समेत नपाएको भन्दै केही दिनअघि प्राविधिक कर्मचारी भर्ना गरेको भए पनि गाउँपालिका क्षेत्रमा गरिने विकासको काम भने १० प्रतिशतको हाराहारीमा मात्र भएको देखिन्छ । 

रुबीभ्याली सदरमुकामबाट धादिङबेसी तिप्लिङ सडक खण्डको डुन्डुरेसम्म ४२ किलोमिटर कच्ची सडक छ भने यसभन्दा माथि २१ किलोमिटर बाटो पैदल हिँडेर जानु पर्ने हुन्छ ।

दुई वर्षअघिदेखि ट्रयाक खन्नेकाम भइरहेको छ । तर ठेकोदार कम्पनीले समेत सुरक्षाको कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेको छैन ।
 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया