पलाँता गाउँपालिकाका सबै वडामा हेलिप्याड बनाउने तयारी

 पुस २१, २०७५ शनिबार १६:१:११ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – जोखिमका घटनाहरुलाइ न्यूनिकरण गर्न पलाँता गाउँपालिकाले सबै वडाहरुमा सम्भावव्यता अध्यान गरी हेलिप्याड बनाउने भएको छ ।

महामारी, आगलागी, भूकम्प, बाढी–पहिरोलगायतका घटनाहरुबाट हुने क्षति कम गर्न र तत्काल उद्धार तथा राहतका कार्यहरु गर्न हेलिप्याड आवश्यक भएको गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् जोखिम न्यूनिकरण समितिका संयोजक लक्ष्मणबहादुर बमले बताउनुभयो ।

पलाँता १ को खाँडा बस्तीमा पुस ८ गते राति भएको आगलागी पीडितहरुका लागि राहत सामाग्री लिएर आएको नेपाली सेनाको हेलिकप्टर उपयुक्त स्थानमा हेलिप्याड नभएकाले बस्न कठिन भएको वडा नम्बर २ का अध्यक्ष वुद्धि विश्वकर्माले बताउनुभयो ।

गर्भवती महिला लैजान तथा आपत्कालीन उद्धार गर्न प्रत्येक वडामा हेलिप्याड आवश्यक भएको पलाँताका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताउनुभयो । कुस्माले भन्नुभयो, ‘यो आपत्कालीन उद्धारका लागि हो । वडा–वडामा हेलिप्याड बनाएर पलाँताले हेलिकप्टर खरिद गर्दै छ भन्ने नसोच्नु होला । विकासमा सडक निर्माण हाम्रो पहिलो विकास एजेण्डा हो ।’

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसहित राहत सामाग्री बोकेर पुस ९ गते खाडामा पुगेको नेपाली सेनाको हेलिकप्टर बस्ने ठाउँ उपयुक्त नहुँदा चार पटक आकाशमा घुमेको थियो । गाउँपालिकाले पलाँता १ को खाडा बस्ती आगलागीको विवरण पेश गर्दा आफ्नै कर्मचारीले गलत विवरण पेश गरेको बताएको छ ।

‘प्रारम्भिक तथ्यांक दिँदा स्थानीय कर्मचारी र जनप्रतिनिधिले नै प्रहरीलाई गलत सूचना दिएको बुझिएको छ ।  २२ घरधुरी जलेकै हुन्  । १ घर आगलागीबाट बचाउन फालिएको हो । १३ घर परिवार कैलाली बस्छन् । जम्मा ३६ घरधुरी नै हुन्’, पालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भन्नुभयो, ‘कैलाली बस्नेहरुको घर मात्र डढेको हो । खास्सै क्षति भएन । यसै तथ्याकलाइ बंग्याएर ८७ घरधुरी बनाउने काम भएछ ।’

पालिकाले खरको छाना बिस्तापित गर्ने कार्य अगाडि बढाउने भएको छ । आगलागी पीडितलाई वडा नं. २ को सैनमा एकृकीत बस्ती विकास कार्यक्रम संचालन गरी व्यवस्थापन गर्ने भएको छ ।

शनिबार बसेको गाउँपालिका बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले पलाँता १ को खाडाबस्ती आगलागीमा सहयोग गर्नुहुने संघ संस्था व्यक्ति र स्थानीय निकाय सबैलाइ धन्यवाद दिने निर्णय गरेको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया