काठमाडाैंमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिँदै

 पुस २७, २०७५ शुक्रबार १२:२:१५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौंका बिभिन्न आठ ठाउँमा सोलारबाट चल्ने ट्राफिक बत्ती राखिने भएको छ । पद्मोदय रोड, बागबजार, सिंहदरबार गेट अगाडि, पुरानो बानेश्वर, मित्रपार्क, गौशाला, कालिमाटी र तीनकुनेमा ट्राफिक बत्ती राख्न लागिएको हो । 

सहरको ट्राफिक अवस्थालाई व्यवस्थित गर्दै जाम कम गर्न ट्राफिक बत्ती राख्न लागिएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनभयो । 

पहिलेका ट्राफिक बत्ती विदेशी दाताहरुको सहयोगमा राखिएका भए पनि अहिले भने नेपाल सरकारको तर्फबाट नै ट्राफिक बत्ती निर्माणको लागि बजेट छुट्याइएको छ । आठ ठाउँमा ट्राफिक बत्ती राख्नको लागि ९७ लाख ५० हजार रुपैयाँको बजेट प्राप्त भएको गौतमले बताउनुभयो । 

पुराना ट्राफिक बत्ती नचल्ने अवस्थामा

कतिपय ठाउँमा प्हिलेदेखि नै राखिएका ट्राफिक बत्तीहरु बिग्रिएका छन् । थापाथली चोकमा र कोटेश्वरबाट सूर्यविनायक जाने ठाउँमा करिब एक दशक अगाडि नै ट्राफिक बत्ती राखिएको भए पनि अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन् । 

बिग्रेपछि बेलाबखत बनाउने गरेको भए पनि अहिले भने काम नलाग्ने अवस्थामा छन् । नयाँ ट्राफिक बत्ती राख्ने काम सँगै पुरना बत्तीहरु पनि मर्मत गरिने सडक विभागका प्रमुख विभागीय ईन्जिनियर (सीडीई) दीप बराहीले जानकारी दिनुभयो ।

पुराना बत्तीमध्ये केही ठाउँमा बिग्रेका भए पनि केही ठाउँमा भने प्रयोग भइरहेका छन् । महाराजगञ्ज र पुतलीसडकमा भएका ट्राफिक बत्ती अहिले प्रयोगमा आइरहेका छन् । 

केही समय पहिला काठमाडौं दिगो सहरी आयोजनाले ट्राफिक बत्ती निर्माणको लागि टेण्डर गरेको थियो । अष्ट्रेलियन कम्पनीले निर्माण गर्ने भनेर तयारी भए पनि पछि काम भने हुन नसकेको बराहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यतिबेला राख्न लागिएको ट्राफिक बत्ती अलि महंगो प्रविधिको भएकाले पछि नराखिएको हो । अहिलेको सस्तो प्रविधि हो ।’

कस्ता हुन्छन् अब राख्ने ट्राफिक बत्ती ?

अहिले राख्न लागिएका ट्राफिक बत्तीहरु ‘इण्डिभिजुअल चोक सिस्टम’ मा बन्नेछन् । अर्थात सबै चोकको बत्ती नियन्त्रण एकै ठाउँबाट नभएर प्रत्येक चोकबाट अलग्गै नियन्त्रण हुनेछ । यो एकै ठाउँबाट नियन्त्रण गर्ने प्रविधिभन्दा यो प्रविधि सस्तो ठानिएको छ । एउटा चोकमा निर्माणको लागि ८ देखि १५ लाख रुपैयाँसम्म लागत लाग्ने बराहीले बताउनुभयो ।

ट्राफिक बत्तीको माथि सोलार जडान गरिनेछ र सोलारबाट नै अबका ट्राफिक बत्तीहरु चल्नेछन् । यसले बिजुलीको पनि बचत हुने सडक विभागको दाबी छ । निर्माणपछि दुई वर्षसम्म मर्मत पनि गर्ने सम्झौतामा स्वदेशी कम्पनी प्रजिल कन्ष्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो । अबको चार महिनाभित्र काम सक्ने सीडीई बराहीले बताउनुभयो ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया