नगरपालिकाको माइन्यूट च्यातियो

 माघ १, २०७५ मंगलबार १२:५:३८ | सिताराम अधिकारी

धादिङ – नगरपमुखले बैठकमा उपस्थिति मात्र गराउने र छलफल सुरु गर्दा नगर्दै सकिने गरेको बैठकका निर्णयहरु छलफल नै नभएको विषयमा हुने गरेको आरोप लगाउँदै नीलकण्ठ नगरपालिकाको निर्णय पुस्तिका च्यातिएको छ ।

बैठकको निर्णय पुुस्तिका नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष बाबुराम लम्सालले एकलौटी निर्णय भएको भन्दै च्यातिदिनुभएको छ । नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले आफ्नो हालीमुहाली गरेर निर्णय फेर्ने गरेका कारण सोमबार भएको बैठकको निर्णय पुस्तिका आफूले च्यातेको लम्सालले बताउनुभयो ।

‘नेपालको कानुनअनुसार सबै चल्नु पर्दछ । तर नगरप्रमुखले मनोमानी गर्नुभयो’, वडाध्यक्ष लम्सालले बताउनुभयो । कानुनअनुसार निर्णय पुस्तिकामा लेखिएका निर्णय प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीकरण गर्नु पर्ने हो । तर आफ्नै अनुकुलमा निर्णय लेख्ने र नगरप्रमुख आफै प्रमाणित गर्ने गरेकोले यसका विरुद्ध वडाअध्यक्षहरु समेत विभाजित भएका छन् । 

उपस्थित भनेर खाली पानामा हस्ताक्षर गर्न लगाउने पछि त्यसैलाई निर्णय बनाउने गरेको उहाँले आरोप लगाउनुभयो । ७ लाखको तारजाली, ५ लाखको खानेपानी पाइप वितरण गर्दा न वडालाई जानकारी भयो न कार्यपालिका वैठकमा यस किसिमका विषय उठाइयो, आक्रोशित हुँदै लम्सालको भनाइ छ । 

जम्मा १४ वडा रहेको नीलकण्ठ नगरपालिकामा नगरप्रमुखको विपक्षमा ८ जना वडाअध्यक्षहरु देखा परेका छन् भने ६ वडाअध्यक्ष नगरप्रमखको पक्षमा देखिएका छन् ।

यसअघि पनि नगरप्रमुख भिमप्रसाद ढुङ्गानालाई नगरभित्रका विकास निर्माण तथा एकलौटी गरेको आरोप लागेको थियो । नगर उपप्रमुख लगायत वडा अध्यक्षहरुले कानुनको उल्लङ्घन गरेको भन्दै नगरप्रमुखको कार्यप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 
    

नगरप्रमुख ढुङ्गानाले भने आफूलाई लागेको आरोप झुट रहेको बताउनुभएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया