विद्युत प्राधिकरण भन्छ : लाइन काटिदिन्छौँ, कारागार कार्यालय भन्छ : हामीसँग पैसा नै छैन

 माघ १, २०७५ मंगलबार १७:५:१६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सरकारी कार्यालय त्यो पनि अति संवेदनशील क्षेत्र मानिएको जिल्ला कारागार कार्यालय रामेछापको विद्युत लाइन काटिने भएको छ । 

कार्यालयले प्रयोग गरेको विद्युतको ८ लाख रकम तिर्न नसक्दा नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने पत्र कार्यालयमा पठाएपछि रामेछाप कारागारमा तनाव सिर्जना भएको छ । कारागार कार्यालयले गएको आर्थिक वर्ष २०७४÷०७५ देखिकै विद्युतको रकम तिर्न बाँकी रहेको र यस आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म विद्युतको महसुल नबुझाएपछि कार्यालयको लाइन काट्न पत्राचार गरिएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले पहिला त पटक–पटक कारागार कार्यालय प्रमुखलाई मौखिक जानकारी गराउँदा पनि विद्युतको रकम प्राप्त हुन सकेन र बाध्य भएर पछिल्लो समयमा हामीले कार्यालयको तर्फबाट विद्युत लाइन काट्ने पत्राचार नै गर्न बाध्य भयौँ ।’ पत्रअनुसार समयमा रकम नबुझाएमा तत्काल विद्युत लाइन काटिने प्राधिकरणका प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्ला कारागार कार्यालयमा बजेट अभाव भएकै कारण विद्युत, खानेपानी र औषधिलगायतको बिल तिर्न नसकेको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख प्रमोद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयमा जम्मा वार्षिक रुपमा विद्युतका लागि २ लाख र खानेपानीका लागि २ लाख मात्र  बजेट आउने गरेको छ । यति सानो रकमले यत्रो कार्यालयमा कसरी पुग्छ ?’ 

कारागारमा मासिक एक लाख रुपैयाँ विद्युतको महसुल उठ्छ भने खानेपानीको ४५ हजारदेखि ५० हजारसम्म बिल उठ्ने गरेको छ । 

कार्यालयमा रकम अभाव भएपछि भदौदेखि नै थप रकम माग गरिएको भए पनि विभागले अहिलेसम्म रकम नपठाउँदा अन्धकारमा बस्नु पर्ने अवस्था सिर्जना भएको कारागार कार्यालयका प्रमुख अधिकारी बताउनुहुन्छ । त्यस्तै कारागारमा रहेका कैदीबन्दीलाई प्रदान गरिएको औषधिको बिलसमेत कार्यालयले भुक्तानि गर्न सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण रामेछापले लामो समयसम्म पनि विद्युतको रकम नतिर्दा ५४ लाख रुपैयाँ रकम बक्यौता बसेको भन्दै त्यसलाई उठाउनको लागि सबै क्षेत्रको विद्युत लाइन काट्ने तयारीमा लागेको जनाएको छ । 

कारागारबाहेक विद्युत महसुल नबुझाउनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर–७, मा रहेको छत्तिवने खानेपानी उपभोक्ता समितिको २ लाख ८९ हजार ८ सय ९६ रुपैयाँ, खाँडादेवी गाउँपालिका वडा नम्बर–३, भिरपानीमा रहेको भिरपानी खानेपानी उपभोक्ता समितिको ४ लाख १७ हजार रुपैयाँ र मन्थली नगरपालिका वडा नम्बर–६, कुनाउरीमा रहेको कुनाउरी सिंचाइ उपभोक्ता समितिले २ लाख ५० हजार रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

 विद्युतको रकम समयमा नबुझाएपछि प्राधिकरणले सबै उपभोक्ताहरुलाई पटक–पटक ताकेता गर्दा समेत रकम तिर्न आनाकानी गरेपछि बाध्य भएर दिँदै आएको विद्युत लाइन काट्न पत्राचार गरिएको नेपाल विद्युत प्राधिकरण रामेछापले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया