भरतपुर महानगरमा ठूला आयोजना : प्रचण्डको साथ, अरु संस्थाको हात

 माघ ३, २०७५ बिहिबार १३:५५:२३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका काम सुरु भएको हो ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अगाडि बढाएको मेयर रेणु दहालले जानकारी दिनुभयो । देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध र सहयोगलाई विशेष प्रथामिकता दिएको उहाँले बताउनुभयो ।

महानगर क्षेत्रमै पर्ने चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथले पनि महानगर भित्रका ठूला आयोजनाले गति लिन थालेका हुन् ।

देशको मध्य भागमा रहेको भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासका लागि सहयोग गर्न स्वदेशी एवं विदेशी लगानीकर्ताको चासो पनि बढ्दै गएको छ ।

हरेक क्षेत्रमा काम गर्नका लागि स्वदेशी तथा विदेशी संघ संस्थाहरुको चासो बढिरहेको बताउँदै मेयर दाहालले पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, महाविद्यालय, प्राविधिक शिक्षालय बनाउन र अरु विकास निर्माणका लागि पनि काम सुरु हुन लागेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला 

महानगरभित्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काममा लामो समयदेखि प्रयास भैरहेको थियो । केही समय अन्योल जस्तो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने काम अगाडि बढेको छ ।
 
महानगरभित्रै पर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरमा जग्गा प्राप्त भएपछि निर्माणको प्रकृया अगाडि बढेको हो । धुर्मुस सुन्तली फाउण्डेशनसँगको सहकार्यमा निर्माण हुने गरी प्रकृया अगाडि बढेको मेयर दाहालले बताउनुभयो । यही महिनामा एउटा विशेष कार्यक्रमको आयोजना गरी कामको सुरुवात हुने पनि उहाँले बताउनुभयो । 

३० विगाह क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र  एसियाकै नमूना रङ्गशाला बनाउने महानगरको लक्ष्य छ  । 

नमूना सिटी हल  

परिकल्पना पहिल्यैको भए पनि जमिनका विषयमा विवाद भएका कारण केही समय अन्योलमा रहेको सभागृह निर्माणको काम पनि अगाडि बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिगाह चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम सुरु गरिसकेको जानकारी दिंदै मेयर दाहालले जतिसक्दो छिटो नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने बताउनुभयो । शहरी विकास तथा भवन निर्माण विभागमार्फत ५१ करोड रुपैयाँ विनियोजन गरिसकेको र नपुगेको  रकमका लागि संघीय सरकारबाट उपलव्ध गराउने प्रतिबद्धता भइसकेको उहाँले बताउनुभयो ।

सिटी हल निर्माणका लागि परामर्शदाताद्वारा जग्गाको नाप जाँच भएको र शहरी विकास तथा भवन निर्माण विभागले चैत महिनासम्ममा डीपीआर दिएमा असारमा शिलान्यास गर्ने तयारी छ ।

बहुउद्देश्यीय व्यावसायिक भवन 

नारायणगढ बजारको ल्यान्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रकृया पनि महानगरले अगाडि बढाएको छ । केही समय अगाडिसम्म फलफूल तथा तरकारी बजार रहेको क्षेत्रमा ८० करोड रुपैयाँ बरावरको लागानीमा पार्किङसहितको बहुतले भवन बनाइने मेयर दहालले बताउनुभयो ।

विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले  व्यस्त बजार नजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुने बताउनुभयो । 

रिङरोड र लिङ्करोड

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडकको स्तर उन्नति, कालोपत्रे र सडक विस्तारको कामलाई प्रथामिकता दिएको छ । महानगरको योजनामा परेका सघन सहकारी विकास कार्यक्रम अन्तर्गत १३ वटा सडक कालोपत्रे गर्नका लागि सम्झौता भई काम थालिएको छ ।

महानगरभित्र रिङरोड र लिङ्करोड निर्माणका लागि मात्र  शहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा एक अर्ब ५० करोड खर्च रुपैयाँ गर्न सक्ने गरी काम पनि अघि बढाएको छ । रिङरोड र लिङ्करोडका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम पनि अघि बढाइसकेका छन् ।

बसपार्क 

शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपर्कलाई मर्मत गरी थप व्यवस्थापन गर्ने योजना अगाडि बढाइएको छ । ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको मेयर दाहालले बताउनुभयो । कुनै समय दक्षिण एसियाकै नमूना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमूना बसपार्क बनाउने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो । 

आधुनिक शैलीका पार्क

महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । नगरवन, रानीपोखरी, लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि लगभग १४ करोड रुपैयाँ खर्च गर्ने गरी काम अगाडि बढाएको छ  । महानगरमा रहेका तीनवटा पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताउँदै मेयर दाहालले स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नारयाणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गरी विदेशी पर्यटकहरुलाई समेत आकर्षण हुने गरी पर्यटकीय क्षेत्र बनाइने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रबाट सहयोगको प्रस्ताव आइरहेकोले यसलाई विभिन्न सरोकार राख्ने निकायहरुसँग समन्वय गरेर काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो । 

अस्पताल विकास 

जिल्लामा रहेका दुई अस्पताललाई ठूला आयोजनाको रुपमा लिएर काम अगाडि बढाइएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा ६ करोड रुपैयाँ लगानी गरी बिरामी कुरुवा घर निर्माणको काम अगाडी बढी सकेको दाहालले बताउनुभयो । चौथो प्याकेजअन्तर्गत ६ करोड रुपैंयाँको लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रविना–जोशी–फूलजोर जेभिसँग सम्झौता भएको हो ।

कुरुवा घरमा ५० वटा बेड रहने छन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङलगायतको व्यवस्था हुने छ । 

महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । क्यान्सर रोगसँग सम्बन्धित विषय अध्ययन अनुसन्धानका लागि प्रतिष्ठानकै रुपमा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको मेयर दाहालले बताउनुभयो । 

शव दाहगृह

देवघाटमा १० करोड रुपैयाँको लागानीमा शव दाहगृह बनाउने तयारी भइरहेको छ । यसको ठेक्का सम्झौता भइसकेको छ । सरकारको लगानीमा देवघाटमा बन्ने शवदाह गृह नेपालकै पहिलो हुने छ ।

शवदाह गृह निर्माणका लागि मिलिनियम–सिद्धगढी जेभी काठमाडौंसँग यसै हप्ता सम्झौता हुने मेयर दाहालले जानकारी दिनुभयो । १० करोड रुपैंयाँको लगानीमा दुई वर्षभित्र शवदाह गृह निर्माण सक्ने लक्ष्य छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया