विपद व्यवस्थापनका लागि प्रहरीका पाँच नाटक ! (तस्बिरसहित)

 माघ ४, २०७५ शुक्रबार ९:२७:४७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – सशस्त्र प्रहरी बल विपद व्यव्यस्थापन तालिम केन्द्र कुरिनटार चितवनले विभिन्न विपदको समयमा उद्धार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यासमुलक नाटक प्रदर्शन सुरु गरेको छ । 

विपद हुनु अघि, विपदका बेला र विपत भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानी बारेमा तयार रहेको यो जनचेतनामुलक कार्यक्रम राष्टिय भूकम्प दिवसको अवसर पारेर देखाउन सुरु गरिएको हो । 

सर्पले डसे तत्काल उद्दार कसरी गर्ने ? भूकम्प आउँदा कसरी सुरक्षित हुने ? खाना पकाउने ग्याँसमा अगलागी भए के गर्ने ? गाडी दुर्घटनाका घाइतेलाई कसरी उद्धार गर्ने ? लगायत विषयमा तयार पारिएको अभ्यासमुलक नाटक बुधबार चितवनको इच्छाकामना गाउँपालिका परिसरमा देखाइएको थियो । 

प्रहरी आफैंले तयार पारेको अभ्यासमुलक नाटक पहिलो पटक देखाइएको हो । घर आगलागी हुँदा स्थानीय श्रोत साधन प्रयोग गरेर कसरी निभाउने भन्ने बिषयमा पाँच नाटक तयार गरेको तालिम केन्द्रका प्रमुख एसएसपी किशोर प्रधानले जानकारी दिनुभयो । 

घटना भएपछि उद्दारमा खटिनु एउटा काम भए पनि आम नागरिकलाई घटनापछि तत्काल उद्दार कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन सके थप प्रभावकारी हुने देखिएकोले प्रहरी आफैंले जनचेतनाका लागि यो अभ्यासमुलक नाटक तयार गरेको प्रधानले बताउनुभयो । 

विपदका घटना भएपछि बढी आत्तिने र हतार हतारमा उद्दार गर्न खोज्दा समस्या थपिने क्रम बढेको र प्रहरी आफैं उद्दारमा पुग्दा समय लाग्ने गरेका कारण क्षति बढ्ने भएकाले उद्दारकार्यमा सबैलाई सेचत गाराउन यो अभ्यास सुरु गरिएको उहाँले जानकारी दिनुभयो । विपद भैसकेपछि हतास हुनुभन्दा विपद व्यवस्थापनमा लागे अकालमा ज्यान जानबाट बच्न र बचाउन सकिने उहाँले बताउनुभयो । 

‘आफूले लगाएको कपडा, वरपर रहेका स्थानीय श्रोत र सामग्रीलाई प्रयोग गरेर उद्धार गर्न सकिने तरिका सिकाइन्छ’ उहाँले भन्नुभयो, ‘लगाएको कपडालाई प्रयोग गरेर बिरामी वोक्ने स्ट्रे बनाउने जस्ता सामान्य सामग्रीलाई समेत प्रयोग गर्दा ठूलो क्षतिबाट जोगाउन सकिने शैली यसमा सिकाइन्छ ।’ 

लामो समय लगाएर प्रहरीले तयार पारेको यो अभ्यास गाउँ गाउँमा लगेर सिकाउन सके विपदपछिको उद्दारमा धेरै राहत हुने बताउँदै उहाँले विपद व्यवस्थापन तालिम केन्द्रले स्थानीय निकायहरुसँग समन्वय गरेर यो अभ्यासमुलक नाटक प्रभावकारी रुपमा देखाउँदै लैजाने बताउनुभयो । 

चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्रले देशका बिभिन्न क्षेत्रमा विपदका घटनापछि उद्दार गर्दै आएको छ । पछिल्लो समय विपदपछिको उद्दारका लागि जनशक्ति समेत उत्पादन गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया