निजी क्षेत्रलाई विश्वासमा लिन सके विकास सम्भव : अध्यक्ष प्रचण्ड

 माघ १७, २०७५ बिहिबार १९:६:५३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिन सके मात्रै विकासले गति लिने बताउनु भएको छ । उहाँले देशभित्रका व्यवसायको लगानी सुरक्षित छ भन्ने विश्वास नदिलाएसम्म विकासले गति लिन नसकेको उहाँको भनाई थियो ।

सातौं वालिङ महोत्सवको उद्घाटन गर्दै दाहालले भन्नुभयो, ‘सरकार निजी क्षेत्रलाई विश्वासिलो वातावरण बनाउनेतर्फ उन्मुख छ ।’ अध्यक्ष प्रचण्डले स्वदेशका व्यवसायीलाई विश्वास लिन नसक्दासम्म विदेशी लगानी आउन नसक्ने बताउनुभयो ।

सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको भन्दै प्रचण्डले दलगत राजनैतिक विचार फरक भए पनि विकासमा सबै दलबीच एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो । राजनैतिक मुद्दाहरुलाई विभिन्न चरणमा व्यवस्थित गरेर अगाडि बढेको दाहालको भनाई छ । ‘हामी विश्वले विश्वास गर्न नसकेको शान्ति प्रक्रियालाई पूरा गर्ने अन्तिम चरणमा छौँ’, पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले भन्नुभयो, विश्वलाई चकित पारेको राजनीतिक परिवर्तन जस्तै विकासमा पनि विश्वलाई चकित पार्नुछ ।’

महोत्सवमा बोल्दै सहकारी तथा भूमिसुधार मन्त्री पद्मा अर्यालले विकास कुरामा मात्र सीमित हुन नदिन सरकारले आन्तरिक तयारीलाई तीव्र रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले निजी क्षेत्रसहित दातृ निकायसँग समेत हातेमालो गरेर विकासलाई गति दिन आफूहरु लागि परेको जानकारी दिनुभयो । 

वालिङ महोत्सवको उद्घाटनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचारमा डुबेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित हुन लागेको बताउनुभयो । विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर जानु  पर्नेमा उहाँको जोड थियो । प्रवक्ता शर्माले विगतमा जस्तो राजनीति मुद्दा नरहेकाले कसैलाई पनि विकासका गतिविधिबाट उम्कने मौका नरहेको स्पष्ट पार्नुभयो । नेपालको विकास दिनमा ८ घण्टा मात्र गरेर नपुग्ने बताउँदै शर्माले रातदिन गरेर विकासमा समर्पित हुन सरकारलाई आग्रह गर्नु भयो ।

महोत्सवमा सम्बोधन गर्दै शर्माले बुढिगण्डकी निर्माण गर्न सरकारले चीनलाई दिनु ठूलो दुर्भाग्य भएको बताउनुभयो ।

यसैबीच सातौं वालिङ महोत्सव बिहीबारबाट सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सव १२ दिन सम्म सञ्चालन हुनेछ ।

व्यावसायिक चेतना अभिवृद्धि, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध विस्तार, हस्तकला व्यवसायको खोजी तथा प्रबद्र्धन गर्ने, कृषिउपजको प्रर्बद्धन गर्ने, बजार अनुसन्धान एवं नयाँ वस्तु विकास गर्न अवसरको सृजना गर्ने, आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको आकर्षणको रुपमा रहेको आँधीखोलामा निर्मित कृत्रिम ताल निर्माण गरिएको छ । ३५ जनाको क्षमता भएको स्टिमर र पुरानो हाते डुङ्गाले दर्शकलाई जलविहारको मज्जा लिने छन् । 

‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल आयोजित महोत्सवमा  १५ करोडभन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको संघका पौडेलले बताउनुभयो । महोत्सवमा कृषि तथा पशुपंक्षी, सूचना तथा प्रविधि, होटल, फेन्सी तथा कष्टमेटिक, हस्तकला, जुत्ताचप्पललगायतका ४ सय स्टलहरु रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया