पढाइ एमफिलको : काम शौचालयको

 माघ २२, २०७५ मंगलबार १०:३३:३२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – एकाबिहानै सर्ट पाइन्ट र टाईमा  चिटिक्क सजिएर प्राध्यापकको रुपमा कक्षाकोठामा ‘लेक्चर’ दिने ऋषि गर्तौला बेलुका भएपछि रत्नपार्क र शंखपार्कको शौचालयमा भेटिनुहुन्छ । यो उहाँको एक दिनको वा कहिलेकाहीँको काम होइन, दुई वर्षदेखि यसैगरी उहाँको दैनिकी चल्दै आएको छ । ‘जाँगर भए गागरमै सागर भेटिन्छ’, गरे देशमै थुप्रै अवसरहरु छन् भन्ने कुराको उदाहरण बन्नुभएको छ, ४० वर्षीय गर्तौला ।  

गर्तौला अरुले छीःछी र दूरदूर गर्ने शौचालय रेखदेखको काम गर्नुहुन्छ, । उहाँले अहिले काठमाण्डौको खुलामञ्च, शंंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्दै आउनुभएको छ । ‘एमफिल होल्डर’ गर्तौलाको यस्तो काम देख्ने र सुन्ने धेरैलाई आश्चर्य लाग्न सक्छ । 

सानैदेखि सरसफाईको क्षेत्रमा लागेर नेपालमै केही गरौँ भन्ने सोचाइ राख्ने गर्तौलाले काठमाडौमा तीन वटा शौचालय सञ्चालनको जिम्मा लिनुभएकोे दुई वर्ष भइसकेको छ । उहाँले योबाहेक अरु काम पनि गर्दै आउनुभएको छ । बिहान प्राध्यापन, दिउँसो सहकारी र बेलुका शौचालयको रेखदेख गर्ने उहाँको दैनिकी छ । 
सिन्धुलीको मरिण गाउँपालिका ६ कपिलाकोट घर भएका गर्तौला अहिले काठमाण्डौको टोखामा बस्दै आउनुभएको छ । 

काठमाण्डौ महानगरपालिकाले आह्वान गरेको बोलपत्रमा प्रतिष्पर्धा गरेपछि उहाँले शौचालय सञ्चालन गर्न थाल्नुभएको हो । तीनवटा शौचालय सञ्चालन गरेबापत उहाँले सरकारलाई वार्षिक ४२ लाख रुपैयाँ भन्दा धेरै रकम तिर्ने गर्नुभएको छ । शंखपार्कको शौचालयबाट वार्षिक ८० हजार, रत्नपार्कको शौचालयबाट वार्षिक साढे १४ लाख र खुलामञ्चको शौचालयबाट २७ लाख ३१ ह्जार रुपैयाँ बुझाउने गरेको उहाँ बताउनुहुन्छ । यो सबै तिरेर पनि उहाँले वर्षको झण्डै साढे ७ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

‘सानो ठूलो काम होइन, मान्छेको मन हो’

‘नेपाल समस्या र चुनौतीले घेरिएको छ वा अवसरै अवसरले भरिएको छ ?’ भन्ने प्रश्न गरियो भने सिंगो देश नै पक्ष र विपक्षमा विभाजित हुन्छ । सधैंजसो सेमिनार गोष्ठी र कार्यक्रमहरुमा होस् वा सामान्य नेपाली नागरिकहरुको कुराकानीमा यो विषय निकै चर्चित र समसामयिक हुन आउँछ । पक्ष र विपक्षका आफ्नै भोगाई, तर्क र विश्वासहरु होलान् ।  तर गर्तौला नेपालमै जताततै अवसर मात्रै देख्नुहुन्छ ।

१२ कक्षासम्मको पढाई गाउँमै पूरा गरेर २०५८ सालमा काठमाण्डौ आउनुभएको हो गर्तौला । बिभिन्न समस्या र कठिनाईका बाबजुत पनि उहाँले उच्च शिक्षा हासिल गर्नुभयो । स्नातकोत्तर तहको पढाई पूरा गरेपछि गाउँमै खुलेको कलेज सञ्चालनका लागि पनि बोलाइएको थियो । तर जानुभएन । स्नातकोत्तर तहको पढाई सक्दैमा आफ्नो पढाई पूरा भएजस्तो गर्तौलालाई लागेन । उहाँको एमफिल गर्ने सोच मनबाट हट्न सकेको थिएन ।

उहाँले स्नातकोत्तर पूरा गरेपछि सुन्धारामा रहेको एउटा कलेजमा पढाउन थाल्नुभयो । २०६७ सालदेखि उहाँ भोटाहिटी रानीपोखरी बचत तथा ऋण सहकारी संस्थामा पनि आवद्ध हुनुहुन्छ । हिजोआज एक्टिभ उच्च माध्यमिक विद्यालय बसुन्धारामा प्राध्यापन गर्नुहुन्छ । सहकारीमा काम गर्दा नै एकदिन उहाँलाई गोरखापत्रमा सार्वजनिक शौचालय सञ्चालनका लागि महानगरपालिकाकाले बोलपत्र आह्वान गरेको कुरा थाहा भयो । 

शौचालय सञ्चालनको विषयमा बिस्तृत अध्ययन गरिसकेपछि राम्रै हुन्छ कि भन्ने सोचेर पाँच वर्षका लागि शौचालय सञ्चालनको जिम्मेवारी लिनुभयो । 

कलेज सञ्चालन गर्ने काम छोडेर यस्तो सानो काममा लागिएछ भन्ने लाग्दैन ? भन्ने प्रश्नको उत्तरमा उहाँ भन्नुहुन्छ, ‘काम सानो ठूलो हुँदैन सानोतिनो हुने त मान्छेको मन हो ।’ 

‘शौचालयले आम्दानी मात्रै होइन आत्मसन्तुष्टि पनि दिएको छ’  

काठमाण्डौ जस्तो घना र साँघुरो शहरमा शौचालयको महत्व त त्यसलाई थाहा हुन्छ जसले टाढाबाट बीच सहरमा आउँदा शौचालय प्रयोग गर्नुपर्ने हुन्छ । शौचालय खोज्दै कि त वरिपरि कतै सरकारी क्याम्पस वा अस्पताल छ कि भनेर खोज्नुपर्छ कि त गर्नुपर्ने काम अधुरै छोडेर आफ्नो निवास फर्किनुपर्छ । यही कुरा सम्झेर गर्तौलालाई कहिलेकाहीँ त आफूले सामाजिक काम गरिरहेको छु जस्तो लाग्छ । 

शौचालयमा सबैभन्दा महत्वपूर्ण पक्ष सरसफाइ भएको उहाँ बताउनुहुन्छ । शौचालय पहिलाभन्दा निकै सफा र व्यवस्थित बन्दै गएको गर्तौलाको भनाई छ । शौचालयमा शौच मात्रै नभइ टाढाबाट यात्रा गरेर आउने र काठमाण्डौमा आफन्त नभएकाहरुको लागि स्नान कक्ष लगायतका व्यवस्था समेत रहेको छ ।  

शौचालयमा  सरसफाइको लागि पानीको केही समस्या भए पनि ट्याङकरको पानी किनेर शौचालयमा प्रयोग हुने गरेको छ । सुरुसुरुमा शौचालय सञ्चालन गर्छु भन्दा नराम्रो सोच्नेहरुले पनि अहिले हौसला दिने गरेका उहाँ बताउनुहुन्छ । 

महानगरपालिकासँग गरेको सम्झौतामा दिसापिसाब गरेबापत २ वर्षमा १० देखि २० प्रतिशत शुल्क बढाउन सकिने प्रावधान भए पनि आफू शौचालय प्रयोग गरेबापतका शुल्क नबढाउने पक्षमा रहेको उहाँले बताउनुभयो । अहिले सेवाग्राहीले शौचालयमा गएर दिसा बसेको १० रुपैयाँ, पिसाब फेरेको ५ रुपैयाँ, तातोपानीले नुहाएको ९० रुपैयाँ र चिसो पानीले नुहाएको ८० रुपैयाँ तिर्नुपर्छ । 

काठमाण्डौका अरु ठाउँमा पनि शौचालय संचालन गर्ने इच्छा 

आउँदा दिनहरुमा काठमाण्डौका अन्य आवश्यक ठाउँहरुमा पनि शौचालय सञ्चालन गर्ने उहाँको विचार छ । तर महानगरपालिकाको अनुमति लिनेदेखि लिएर अन्य आवश्यक प्रकृया पुर्याउन सजिलो नभएको उहाँले बताउनुभयो । 

काठमाण्डौमा थुप्रै अन्य ठाउँहरुमा पनि यस्ता सार्वजनिक शौचालयको आवश्यकता महसुस त गरिएको छ । तर त्यसको लागि सरकारले जग्गा उपलब्ध गराइदिने र अनुमति पाउनु नै गाह्रो हुने उहाँको भनाई छ । आफूले पाए र भ्याएसम्म यो कामलाई निरन्तरता दिने उहाँ बताउनुहुन्छ ।  
 

अन्तिम अपडेट: बैशाख २९, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया