बसन्त थापाले छाडे लोक दोहोरी प्रतिष्ठान, भावुक स्टाटस लेख्दै रवि ओडले मागे माफी

 माघ २२, २०७५ मंगलबार १५:५:५६ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै – संगीतकार बसन्त थापाले रवि ओडले आफ्नो गीत बिगारेर गाएको र लोकदेहोरी प्रतिष्ठान मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

त्यो गीत गाइरहँदा उनले शब्दमा गल्ती गरेपछि गीतका संगीतकार बसन्त थापाले आफ्नो गीतको अनुमतिबिना गाएको त्यसमा पनि शब्दमा गल्ती गरेको भन्दै फेसबुकमा आक्रोश पोखेका थिए । 

पछिल्लो समय यो प्रकरण झनै फैलिँदै गएको छ । कसैले संगीतकार बसन्त थापाको बचाउ गरिरहेका छन् भने कसैले रवि ओडको पक्षमा बोलिरहेका छन् । सुदूरपश्चिमका एक युवाले त रवि ओडको पक्ष लिँदै संगीतकार बसन्त थापाको युट्यूब च्यानल अनसब्स्क्राइब अभियान नै सुरु गरेका छन् । 

यता संगीतकार बसन्त थापाले भने नेपाल आइडलको विजेता जस्तो स्टारले आफ्नो गीत बिगारेर गाउँदा आफूले टिप्पणी गरेको तर उक्त विषयमा लोकदोहोरी प्रतिष्ठान भने मौन बसेको भन्दै प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

बसन्तले आफ्नो आधिकारिक फेसबुक पेजमा लामो स्टाटस लेख्दै प्रतिष्ठानबाट अलग भएको बताएका छन् । थापाले आफ्नो फेसबुक स्टाटसमा लखेको कुरा उहाँकै शब्दमा यस्तो छ :

  • म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिएँ । प्रतिष्ठानले त्यो मुद्धामा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैले व्यक्तिगत रुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

यही विषयमा प्रतिष्ठानका तर्फबाट पशुपति शर्माले पनि फेसबुकमा स्टाटस लेख्दै आफ्नो विचार यसरी राखेका छन् :

  • अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छुँ । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ, त्यो गरेको देखिएन ।
  • यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी प्रतिष्ठानको बैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन । उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु अरु केही लेख्दिनँ ।
  • प्रतिष्ठानको फागुन १ गते बैठक बस्दैछ । सम्भवत त्यस बैठकमा यो विवादबारे छलफल भएर कुनै निष्कर्षमा पुग्न सकिन्छ । तर, मूलभूत कुरा भनेको स्रष्टाको सिर्जना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ । तर ती गीत सिर्जनामा कति मेहनत र दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।’

यता नेपाल आइडलका विजेता रवि ओडले पनि आफ्नो सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै आफ्नो गल्ती स्वीकार गरेका छन् । दर्शकहरुले त्यो गीत गाउनाका निम्ति धेरै अनुरोध गरेका कारण अनुरोधलाई नकार्न नसकेपछि बाध्य भएर त्यो गीत गाएको र गाउँदा गीतलाई राम्रोसँग न्याय गर्न नसकेको बताएका छन् ।

हेर्नुहोस रवि ओडले लेखेको स्टाटस उनकै शब्दमाः

  • नमस्ते सबै महानुभावहरुमा, म सधैं भन्ने गर्छु, म सिकारु हूँ, सिक्ने क्रममा छु, म भूइँबाट नै पलाएको हूँ, मेरो धरातल र पृष्टभूमि कहिल्यै भुल्दिन र भुल्ने छैन । नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाइ लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौँ । संगीतलाई निरन्तरता दिन पाएका छौँ, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिनँ ।
  • दर्शक, श्रोता र शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हूँ, त्यसको अर्थ मैले आकाशमा उडेर आफ्नो पृष्ठभूमि नै भुलेको भने होइन । मलाई नेपाल आइडलमा जिताउने तिनै आदरणीय दर्शक, श्रोता र शुभचिन्तकको माया हौसला र खुशियाली बाँड्न अहिले म उहाँहरुको साथमा रम्ने यात्रामा छु । 
  • आफू कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले र हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो । दर्शक श्रोताहरुमाझ प्रस्तुती गरिरहँदा कुनैबेला यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले तयारी नगरेको वा पूरा नआउने गीतलाई गुनगुनाइदिनुपर्ने अनुरोध आउँछ । 
  • ‘सालको पातको टपरी’ मा पनि मलाई यस्तै बाध्यता आइलागेको हो । अहिले सबैको मुखमा झुण्डिएको यो गीतको आग्रह दर्शकमाझबाट आयो, मैले यो गीत राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउँनै पर्ने बाध्यता आइलाग्यो । गल्ती भएमा क्षमाप्रार्थी हुनेछु भनेर गीत गाउनुभन्दा अगाडि मैले भनेको पनि  थिएँ ।
  • अहिलेको सर्वाधिक रुचाइएको लोकप्रिय गीत ‘सालको पातको टपरी’ लाई बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन । सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट गाउनुपर्ने माग आउँदा श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हूँ । त्यसैले यस सिर्जनासँग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउँदछु । अनि आदरणीय सर्जकज्यूहरुबाट सँधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भैरहनेछ र हामी जस्ता संगीतका विद्यार्थीहरुले सिक्ने र अघि बढ्ने अवसर प्राप्त हुनेमा आशावादी छु ।
  • अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाई यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तर हृदयदेखि सम्मान गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छुँ । केही उठेका विषयमा सम्मानपूर्वक आफ्नो भावना राख्न पाइन्छ, गालिगलौच र अपशब्दहरुले कतै स्थान नपाओस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधैँ अनुरागी रहनेछु, धन्यवाद – रवि ओड ।।‘‘

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

1 Comments

  • mahen rai

    Feb. 6, 2019, 1:52 p.m.

    who is basanta thapa ? i don't know....... यो उसको प्रतिशोध मात्र हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया