कांग्रेसले गर्‍यो भीमदत्त नगरपालिकाको चौथो नगरसभा बहिष्कार

 माघ २६, २०७५ शनिबार १२:१२:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले भीमदत्त नगरपालिकाको चौथो नगरसभा बहिष्कार गरेका छन् । 

६ महिनामा हुनुपर्ने नगरसभा समयमै नभएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शनिबार हुने भनेको भीमदत्त नगरपालिकाको चौथो नगर सभा अवरुद्ध गरेका हुन् । 

कांग्रेसबाट निर्वाचित ३९ जना जनप्रतिनिधिहरुले ६ महिनामा हुनुपर्ने नगरसभा ७ महिना पछि भएको र ४८ घण्टा भित्र नगरसभाको कार्यविधि दिइसक्नुपर्ने प्रावधान भए पनि कार्यविधि नदिएकाले नगरसभा अवरुद्ध गरेको जनाएका छन् । 

भीमदत्त नगरपालिका वडा नम्बर ४ कि वडा सदस्य सिता भट्टले पटक–पटक कार्यविधि पढ्न पाउनुपर्ने माग राखेको भए पनि बेवास्ता गरेकाले आफूहरुले चौथो नगरसभा अवरुद्ध गरेको बताउनुभयो । 

‘२४ घण्टाभित्र उपलब्ध हुनुपर्ने कार्यविधि हामीलाई दिइएन अहिलसम्म दिइएको छैन’, उहाँले भन्नुभयो ‘हामीप्रति जालझेल गरियो ।’ कार्यविधिमा प्रतिपक्षले विमति राख्न पाउनुपर्ने उहाँको भनाई छ । 

त्यस्तै वडा ४ कि अर्की महिला सदस्य पुष्पा जैरुले आफूहरुलाई अलमलमा राखेर यसअघिका नगरसभा पास गर्ने गरेको भन्दै नागरिकको समस्याको कुरा उठाउन पाउनुपर्ने गुनासो गर्नुभयो । 

उहाँले कार्यविधि अध्ययन गरेर त्यसका आधारमा नगरसभामा कुरा उठाउन पाउनुपर्नेमा त्यो नभएको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया