काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
आबुधाबीमा हिन्दी भाषा अदालतमा प्रयोग हुने तेस्रो आधिकारिक भाषा बनेको छ ।
यसभन्दा पहिले अदालतमा अरबी र अंग्रेजी भाषा प्रयोग हुँदै आएको थियो । न्याय पाउनका लागि कुनै पनि बाधा नआओस् भनेर आबुधाबीका अदालतमा हिन्दी भाषालाई पनि आधिकारिक मान्यता दिइएको बताइएको छ ।
आबुधाबी न्यायिक विभागका अनुसार हिन्दीलाई अदालती कामकाजको भाषा बनाएपछि श्रमिकसँग सम्बन्धित मुद्दामामिलामा निकै सहयोग पुग्नेछ ।
यूएईमा हिन्दीभाषीको बढ्दो संख्यालाई मध्यनजर गर्दै यो फैसला लिइएको हो । आधिकारिक तथ्यांकअनुसार यूएईको कुल जनसंख्या ९० लाख रहेको छ । यसमध्ये दुई तिहाई त प्रवासी नै छ । यूएईमा २६ लाख भारतीय नागरिक रहेको बताइन्छ । यो यूएईको कुल जनसंख्याको ३० प्रतिशत हो । यूएईमा सबैभन्दा बढी भारतीय प्रवाशी नै रहेका छन् ।
आबुधाबी न्यायिक विभागका सचिव योसेफ सइद अल अब्रीले न्यायिक विभागमा पारदर्शीता ल्याउनका लागि हिन्दी भाषाको प्रयोग गरिएको बताएका छन् । खलीज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, ‘न्याय प्रक्रियामा कसैलाई पनि जटिलताको सामना गर्न नपरोस् भन्ने उद्धेश्यले हिन्दीलाई अदालती भाषाको रुपमा ल्याइएको हो ।’
यूएईमा भारतीयको प्रभाव छ भन्ने कुरा त भारतका प्रमुख पार्टीका नेताको बारम्बार हुने भ्रमणले पनि स्पष्ट हुन्छ । हालै मात्र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले यूएईमा रहेका भारतीयहरुलाई सम्बोधन गरेका थिए । नरेन्द्र मोदी पनि प्रधानमन्त्री बन्नुअघि र पछि पनि यूएईमा सम्बोधन गर्न पुगेका छन् ।
पछिल्लो महिना मात्रै भारतका केन्द्रीय वाणिज्य मन्त्री सुरेश प्रभुले साउदी अरेबिया र यूएईको खाद्य सुरक्षालाई ध्यान दिँदै भारतले अन्न उत्पादन गर्ने बताएका थिए ।
मन्त्री प्रभुले स्पेसल इकोनोमिक जोनको रुपमा यूएईको बजारलाई ध्यान दिँदै अनाज उत्पादन गर्ने बताएका थिए । साउदी र यूएई दुवै खाद्य सामग्रीका लागि विदेशमै निर्भर रहेका छन् । भारतले दुवै देशमा खाद्य सामग्री आपूर्ति गर्दै आएको छ ।
मन्त्री प्रभुले दुवै देशका अधिकारीसँगको कुराकानीपछि भनेका थिए, ‘हामी निर्यातका लागि तयार छौँ । यूएईले फूड प्रोसेसिङ र अर्गानिक खेतीमा लगानीमा चासो देखाएको छ । यसले हाम्रा किसानलाई पनि फाइदा पुग्नेछ । यूएई भारतीय अर्थव्यवस्थाका लागि महत्वपूर्ण देश हो ।’
विश्व बैंकको प्रतिवेदनअनुसार भारत विश्वमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश पनि हो । सन् २०१७ मा भारतीय प्रवाशीले ६९ अर्ब अमेरिकी डलर भारत पठाएका थिए । यो सन् २०१८–१९ को भारतीय रक्षा बजेटको डेढ गुणा बढी हो ।
सन् १९९१ को तुलनामा भारतीय प्रवाशीले पठाउने रेमिट्यान्समा २२ गुणाले बढेको छ । सन् १९९१ मा यो राशी केवल ती अर्ब अमेरिकी डलर मात्र रहेको थियो । विश्व बैंकको प्रतिवेदनअनुसार रेमिट्यान्स भित्र्याउने देशमा भारतपटि चीन, फिलिपिन्स, नाइजेरिया र इजिप्ट रहेका छन् ।
यूएईमा सबैभन्दा बढी केरलका भारतीय रहेका छन् । इन्डिया स्पेन्डको एक रिपोर्टअनुसार विदेशबाट सबैभन्दा बढी पैसा पठाउनेमा केरलका नागरिक रहेका छन् ।
केरलको कूल जनसंख्या तीन करोड रहेको छ । यसको १० प्रतिशत मानिस आफ्नो प्रदेशमा बस्दैनन् । सेन्टर फर डेभलेपमेन्ट स्टडिजका अनुसार केरलबाट खाडी पलायन हुनु कुनै नौलो कुरा होइन ।
सीडीएसका अनुसार ‘केरल भारतको एकमात्र राज्य हो जहाँबाट ५० वर्षदेखि खाडी देशतर्फ पलायन जारी छ । केरलका मानिसको खाडी देशहरुसँग बलियो नेटवर्क छ । यहाँका नागरिकको कोही न कोही नातेदार खाडीमा अवश्य रहेका छन् ।’
केरलमा शहरीकरण तीव्र गतिमा बढिरहेको छ । खाडीमा बसेर कमाइरहेका केरलका नागरिकले आफ्नो पसिनाको कमाइ राज्यको विकासमा खर्चेका छन् भन्दा पनि हुन्छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा मात्रै केरलबाट ७ लाख ८१ हजार मानिस काम गर्न विदेश गएका थिए । जसको ९६ प्रतिशत संख्या साउदी अरब, यूएई, बहराइन, कुवेत, कतार तथा ओमान गएको थियो ।
यूएई भारतले सबैभन्दा बढी निर्यात गर्ने देशहरुका दोस्रो नम्बरमा आउँछ । सन् २०१७ मा भारतको गणतन्त्र दिवसमा भारत आएका बेला यूएईका राजकुमारले आउँदो ५ वर्षमा द्विपक्षीय व्यापार ६८ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका थिए ।
गल्फ न्यूजका अनुसार भारत र यूएईबीच हरेक हप्ता १०७६ हवाई उडान रहेको छ । दुवै देशबीच पर्यटन पनि लगातार बढिरहेको छ ।
यूएईले भारतीयका लागि भिसाको नियममा पनि थुप्रै प्रकारको छुटको व्यवस्था गरेको छ । भारतले पनि सन् २०१५ बाट यूएईका नागरिकका लागि ई–भिसाको व्यवस्था गरेको छ ।
दुबईलाई कतिपयले भारतीय हङकङ पनि भन्ने गरेका छन् । दुबई भारतका लागि ट्रेड, ट्राभल र लजिस्टिकको हब पनि हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा महत्वपूर्ण हब पनि हो ।
हरेक वर्ष दुबई विमानस्थल हुँदै लाखौँ नागरिक ओहोरदोहोर गर्दछन् । पछिल्लो तथ्यांकअनुसार दुबई जाने पर्यटकमा सबैभन्दा बढी भारतीय नागरिक नै रहेका छन् । दुबईमा रहेका कम्पनी डीपी वर्ल्ड र एमार भारतमा भएको सबैभन्दा ठूला लगानीमा पर्छन् । त्यस्तै भारतीय कम्पनीले पनि दुबईलाई आफ्नो केन्द्र बनाउँदै लगेका छन् ।
विश्वकै व्यस्त र उत्कृष्ट दुबई विमानस्थल
यूएईको विकासमा भारतीय प्रवाशीको महत्वपूर्ण भूमिका रहेको छ । यूएईमा कन्सट्रक्सन वर्करदेखि, सर्भिस स्टाफ हुँदै टेक्नोक्रेट्ससम्मका काममा भारतीय नागरिक रहेका छन् ।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेसँगै यूएई र साउदी अरबसँगको सम्बन्धमा अचानक सुधार आएको थियो । मोदी भारतका एक मात्र नेता हुन् जसलाई साउदी अरबले आफ्नो सर्वोच्च नागरिक सम्मान दिएको छ ।
यूएईका विदेशी व्यापार तथा उद्योग हेर्ने सचिव अब्दुल्ला अल सालेहले गएको वर्ष भनेका थिए, ‘भारत र यूएईबीच सन् २०२० सम्मको व्यापार एक सय अर्ब अमेरिकी डलर पुग्नेछ । सन् २०१७ मा भारत र यूएईबीच ५३ अर्ब डलरको व्यापार थियो । त्यसमा ३५ अर्ब डलर गैरपेट्रोलियम पदार्थको थियो ।’
चीन र अमेरिकापछि भारत यूएईको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।
–बीबीसी हिन्दीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।