पाल्पामा गणपति महाअनुष्ठान सुरु, सवा करोड लड्डू र तीन करोड दुबो अर्पण गरिने

 फागुन १, २०७५ बुधबार १८:४७:२५ | देव पचभैया
unn.prixa.net

पाल्पा – गणेशधाम स्थापनाका लागि पाल्पामा बुधबारदेखि गणपति महाअनुष्ठान सुरु भएको  छ ।  तानसेनको गुफाचौरमा गणेशधाम बनाउने उद्देश्यले  १० नम्बर वडा कार्यालय परिसर,  प्रभासमा महाअनुष्ठान सुरु भएको हो ।  

महायज्ञ सञ्चालन हुनुअघि पाल्पाको प्रभास, बाँसटारी, भालेबास, सूर्यकुण्ड क्षेत्रमा कलशयात्रा गरिएको थियो । 

आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा सवा करोड लड्डू र तीन करोड दुबो अर्पण गरिनेछ भने इश्वरकृष्ण महाराजको नेतृत्वमा संगीतमय श्रीमद्भागवत वाचन हुनेछ । यस्तै ५० वर्ष पुगेका भक्तहरुको सामूहिक तुलादान, प्रत्येक दिन श्रीगणेश अथर्वशीर्ष १ हजार ८ पारायणलगायतका कार्यक्रम रहने आयोजकले जनाएका छन् । 

महाअनुष्ठानको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले धार्मिक अनुष्ठान जस्ता कार्यले मानिसलाई आत्माअनुशासनमा बस्न सहयोग पुग्ने बताउनुभयो । पूर्वमन्त्री पाण्डेले पाल्पाको गुफाचउरलाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न प्रभासमा सुरु भएको महायज्ञले सहयोग पुग्ने पनि बताउनुभयो  । 

आफूले सुरुदेखि नै गणेशधाम बनाउन सहयोग गर्न क्रियाशिल भएको बताउँदै उहाँले पाल्पाको धार्मिक धरोहरलाई संरक्षण गर्दै गुरुयोजना बनाएर समग्र जिल्लाको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।   

कार्यक्रममा प्रमुख कथावाचक इश्वरकृष्ण महाराजले धार्मिक कार्यक्रमको माध्यमबाट पाल्पाको पर्यटन विकास गर्न सकिने धारणा राख्नुभयो । उहाँले सबैको इच्छा र चाहना अनुसार तेल्घाको गुफाचउरमा भगवान गणेशको मूर्ति स्थापनामा लागेको जानकारी दिदैँ यस महान धार्मिक कार्यमा सबैको सहयोगको आवश्यकता औंल्याउनुभयो । 

आम पाल्पावासीको सानोसानो सहयोगबाट इँटा थपेर गणेशधाम बनाउन सकिने बताउँदै उहाँले तुलादान, लड्डू र दुबो अर्पण कार्यमा सहभागी हुन सबै नेपालीलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया