६९ करोडमा हेस्टर बायोसाइन्सेज स्थापना : बर्ड फ्लूको पनि भ्याक्सिन बनाउने

 फागुन १, २०७५ बुधबार २०:१२:४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – गोल्छा अर्गनाईनजेशन र हेस्टर बायोसाइन्सेज लिमिटेड इण्डियाको संयुक्त लगानीमा स्थापना भएको हेस्टर बायोसाइन्सेज नेपालले हेस्टरले नेपालमै बर्ड फ्लूको भ्याक्सिन बनाउने जनाएको छ । 

कुखुरापालन व्यवसायिक रुपले राम्रोसँग अगाडि बढे पनि बर्ड फ्लू रोगले कुखुरापालक व्यवसायी तथा किसानलाई मर्का पार्ने गरेको बताउँदै काभ्रेको बनेपा नगरपालिका–३, उग्रचण्डीमा स्थापना भएको हेस्टरले नेपालमै बर्ड फ्लूको भ्याक्सिन बनाउन लागेको हो । 

उच्च प्रविधिको प्रयोग गरेर कुखुरा तथा पशु चौपायालाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने उद्योगमा वार्षिक १ सय १४ करोड डोज लाइभ र सक्रिय भ्याक्सिन उत्पादन हुनेछ भने ४७ थरी भ्याक्सिनमध्ये हाल कम्पनीले २० भ्याक्सिनका लागि सरकारबाट लाइसेन्स लिईसकेको संस्थाले जनाएको छ । 

हेस्टर बायोसाइन्सेज नेपालका सीईओ तथा प्रबन्ध निर्देशक राजिव गान्धीले हेस्टर नेपालले  भ्याक्सिनको आयात गरेर वितरण मात्र गर्ने काम गर्ने गरेकोमा अब नेपालमै उत्पादन गरेर अन्य देशमा निर्यात गर्ने बताउनुभयो । 

बुधबार काभ्रेको उग्रचण्डी नालामा रहेको कम्पनीको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानीमैत्री वातावरण तयार भएकाले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकारले एकद्वार प्रणलीमा लगानी गर्ने वातावरण बनाइसकेको तथा लगानी गर्न दिने निर्णय गरिसकेकोले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रमा सयुक्त लगानी ल्याएर सञ्चालन गर्नु राम्रो कुरा भएको बताउनुभयो । गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्धि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रबर्द्धन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

काभ्रेमा स्थापना भएको हेस्टर बायोसाइन्सेज नेपालले स्थानीय उग्रचण्डी खोला मिचेर पर्खाल तथा भवन बनाएको भन्दै स्थानीयलेले भने विरोध गरेका छन् ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया