तिहारमा मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
ललितपुर – ललितपुरको एकान्तकुनामा बिहीबार तामझामका साथ नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस १६ गते नै पानी जहाजको टिकट काट्ने घोषणा त्यसको एक वर्षअघि नै गर्नुभएको थियो । ढिलै भए पनि नेपाल सरकारले बिहीबार ललितपुरमा पानी जहाज कार्यालयको बोर्ड झुण्ड्याउन सफल भएको छ ।
कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै देशमा पानी जहाज सञ्चालन हुनेगरी आवश्यक स्थान, जनशक्ति र योजनासहित अघि बढेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले पानी जहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानी जहाज सञ्चालनमा आउने र टिकट पाइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानी जहाज चलाउने योजनाले अब साकार रुप लिन लागेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले नेपालमा रेलमार्ग भन्दाअघि जलमार्ग सञ्चालनमा आउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय केहीलाई जागिर खुवाउन नभई देशलाई एक कदम अघि बढाउनका लागि सञ्चालनमा ल्याइएको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले यसो भन्दै गर्दा कार्यालय पुग्ने जोसुकैले पनि केही महिनामै नेपालमा पानी जहाज चल्ला भनेर पत्याउने अवस्था भने छैन ।
के–के छन् त पानी जहाज कार्यालयमा ?
केही छैन, बोर्डबाहेक केही पनि छैन । छ त प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा सजाइएका केही सजावट र भवनको बाहिर उहाँको स्वागतमा बनाइएको प्रवेशद्वार ।
उद्घाटनसँगै पानी जहाज कार्यालयमा पुग्दा आफ्नै भवन पनि नभएको पाइएको छ ।
एकान्तकुनास्थित काठमाण्डौ चक्रपथ सुधार योजनाको कार्यालय भएको भवनमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरिएको हो । यस भवनमा ११ वटा कोठा छन् । भवनमा पानी जहाज कार्यालयकाे बोर्ड राखेर कार्यालयको उद्घाटन गरिए पनि सबै कोठाहरु काठमाण्डौ सुधार चक्रपथ योजनाले प्रयोग गर्दै आएको छ ।
यस भवनमा पहिलेदेखि रहँदै आएको काठमाण्डौ चक्रपथ आयोजनाको कार्यालय र नेपाल पानी जहाजको कार्यालय दुवै रहने भनिए पनि कुन–कुन कोठामा कुन कार्यालय रहने भनेर अझै यकिन नभएको काठमाण्डौ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो ।
पानी जहाज कार्यालयमा सहसचिव स्तरका रजिस्ट्रार कार्यालय प्रमुख रहने गरी १६ जना कर्मचारी दरबन्दी कायम गरिए पनि नेपाल सरकारले कार्यालयमा एक जना पनि कर्मचारी खटाउन सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले कर्मचारी समायोजन प्रक्रिया चलिरहेकाले कर्मचारी खटाउन नसकिएको बताउनुभयो । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउनेबित्तिकै नियमित रुपमा पानी जहाज कार्यालयले आफ्नो काम थाल्ने प्रवक्ता सापकोटाले बताउनुभयो ।
नेपालीले सिधै पानी जहाज चलाउनको लागि भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपाल सरकारले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको बताएको छ ।
भारतको गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आइपुग्ने गरी पानीजहाज चलाउने तयारी रहेको छ । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म नै ल्याउने गरी तयारी भैरहेको बताइएको छ ।
३ मिटर गहिराइ र ६० मिटर चौडाइको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने अध्ययन गरिएको भए पनि ३ सय टन क्षमताको पानी जहाज चलाउने तयारी भइरहेको अध्ययन टोलीका संयोजक माधव बेल्वासेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।