धनकुटामा व्यावसायिक खेतीका लागि एभोकाडोको बिरुवाको माग बढ्दाे

 फागुन १४, २०७५ मंगलबार १५:४१:४१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटामा व्यावसायिक रुपमा एभोकाडोको खेती सुरु भएसँगै एभोकाडोको बिरुवाको माग बढेको छ । 

जिल्लामा ७ वटा नर्सरीमा रहेका ४० हजार एभोकाडोका विरुवा बिक्री भए पनि माग धान्न नसकिएको नर्सरी सञ्चालकहरुले बताएका छन् । 
अघिल्लो वर्ष ३० हजार बिरुवा बेच्न तयारी गरेको नर्सरीबाट करीब २० हजार एभोकाडोको बिरुवा मात्र बिक्री भएको धनकुटा नगरपालिका–७ का भरत गुरागाईँ ले जानकारी दिनुभए । 

यो वर्ष नगरमा रहेका नर्सरीबाट करिब ६० लाख रुपैयाँ मूल्य बराबरको ४० हजार विरुवा बिक्री भए पनि किसानहरुको माग धान्न सकिएको छैन । यो वर्ष जसोतसो किसानको माग धाने पनि आउँदो वर्षको लागि बढी माग भएका कारण एभोकाडोको फल किनेर विरुवा उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको धनकुटा नगरपालिका–३ पात्लेका नर्सरी कृषक गोपाल वाग्लेले बताउनुभयो ।

धनकुटा नगरपालिकाले एभोकाडो खेतीका लागि नगरका किसानहरुलाई प्रोत्साहन गरेसँगै जिल्लाभर एभोकाडोतर्फ किसानहरुको आर्कषण बढ्न थालेको छ । 

जिल्लाको कुल भू–भागको ४३ प्रतिशत भागमा एभोकाडोको खेती सम्भावित हावापानी भएकाले धनकुटाका किसानहरुको आर्कषण बढ्न थालेको कृषि विज्ञ जीवन राईले बताउनुभयो । 

धनकुटासँगै जिल्लामा रहेका नर्सरीबाट परीक्षणका लागि थप ३१ जिल्लामा बिरुवा बिक्री भएको कृषि विज्ञ राईको भनाइ छ ।

पाख्रिवास कृषि अनुसन्धान केन्द्रमा ३५ वर्ष अघि अनुसन्धानको लागि आएको ब्रिटिस टोलीसँगै धनकुटा भित्रिएको एभोकाडो हाल आएर धनकुटा नगरपालिकामा १० प्रतिशत किसानले व्यवसायिक खेतीबाट जीविकोपार्जन गरिरहेका कृषि ज्ञान केन्द्र धनकुटाका प्रमु्ख सूर्य सापकोटाले बताए । 

तीन महिना अगाडि मात्र धनकुटा नगरपालिकाले मेयरसँग कृषि कार्यक्रम अन्तरगत धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर एभोकाडो खेती अभियानलाई अगाडि बढाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया