फ्राइडे रिलिज : आजदेखि सिनेमा ‘क्याप्टेन’ र ‘द ब्रेकअप’

 फागुन १७, २०७५ शुक्रबार ११:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज नेपाली सिनेमा हलहरुमा ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ मध्ये कस्ले बाजी मार्ला ? 

दर्शकले रुचाएका निर्देशक हेमराज बीसीको ‘द ब्रेकअप’ र युवा पुस्तामा लोकप्रिय अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ आजदेखि प्रदर्शनमा आएका छन् । 

दुवै सिनेमा ठूला ब्यानरका मानिन्छन् । दुवै सिनेमालाई अपेक्षित सिनेमाका रुपमा हेरिएको छ । तर दुवै सिनेमा एउटै मितिमा प्रदर्शनमा आउनु गलत भएको धेरै चलचित्र पण्डितहरुको बुझाइ छ । 

अनमोल केसीको क्रेज देखेर धेरैले सिनेमा ब्रेकअपको कारोबारमा असर पर्ने अनुमान लगाएका छन् । तर ब्रेकअपको टिमलाई भने यो कुराले खासै असर गरेको देखिँदैन । सिनेमाका मुख्य कलाकार अभिनेता आशिरमान देशराज जोशीले सिनेमा जुध्दा त्यस्तो असर नहुने उल्लेख गरेका छन् । उनले फागुन १७ पछिको ५ दिनको छुट्टिलाई टार्गेट गरेर ब्रेकअपको प्रदर्शन मिति फाइनल गरेको र त्यो समयमा दर्शकको साथ पाउनेमा विश्वस्त भएको बताए ।

ब्रेकअपसँग क्याप्टेन प्रदर्शनमा आए पनि दुई वटै सिनेमालाई दर्शकले माया मिल्नेमा आशिरमान आशावादी देखिए । उनले बलिउड सिनेमाको उदाहरण दिँदै भने, ‘बलिउडमा शाहरुख खान र रणवीर सिंह जस्ता स्टारको सिनेमा एकसाथ आउँदा त सफल भए भने हाम्रो नहुने भन्ने छैन । दर्शक एकजनाले बारम्बार एउटै सिनेमा त हेर्नुहुन्न होला । त्यस कारण उहाँहरुले दुईवटै सिनेमा हेर्नुहुन्छ ।

हामी नेपाली सिनेमाको एकअर्कासँग प्रतिस्पर्धा हैन । त्यहि दिन बलिवुड सिनेमा पनि आउँदैछ । नेपालमा नेपाली सिनेमाले भन्दा बढी बलिउड सिनेमाले शो पाउँछ । बरु त्यो हाम्रो  प्रतिस्पर्धा हो जस्तो लाग्छ ।’

यता चलचित्र क्याप्टेनका निर्माता तथा सदावहार अभिनेता भुवन केसीले चलचित्र ब्रेकअपलाई सफलताको शुभकामना दिए । ‘हामी एउटै मितिमा प्रदर्शनमा आएका छौँ यसको मतलब हामीले प्रतिस्पर्धा गरेका होइनौँ । हाम्रो प्रतिस्पर्धा भनेको बलिउड चलचित्र नै हुन् । नेपालबाट बलिउड चलचित्रलाई प्रतिष्थापन गरेर नेपाली दर्शकलाई नेपाली सिनेमाबाट नै मनोरञ्जन दिने हाम्रो लक्ष्य हो’, भुवनले भने ।

सुपर काजल फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलावा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सूर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डीओपी, दीर्घराज खड्काको सम्पादनमा रहेको छ ।

सिनेमा ‘द ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । बीसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुति रहेको सिनेमामा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ । 

सिनेमालाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन मैनालीको डीओपी र सुरेन पौडेलको सम्पादन रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया