जसले हिलारी र तेञ्जिङका लागि सगरमाथाको बाटो पहिल्याए

 फागुन १८, २०७५ शनिबार १३:३२:१ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – ६६ वर्षअघि सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको शिखरमा मानव पाइला पुगेको थियो । पहिलो पटक सगरमाथाको शिखरमा पुग्ने नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका नागरिक एड्मन्ड हिलारीको बाटो बनाउने शेर्पाहरुले नै पहिलो पटक सगरमाथाको शिखरमा पुग्ने बाटो पहिल्याएका थिए । बाटो पहिल्याउनेमध्ये नाम्चेका कान्छा शेर्पा पनि एक हुनुहुन्छ ।

शेर्पा र हिलारी पहिलोपटक सगरमाथा आरोहण गर्दा सगरमाथाको आधार शिविरबाट ३५ जनाको टोली उकालो लागेको थियो । ३५ जनामध्ये अहिले कान्छा शेर्पा मात्र जीवित हुनुहुन्छ । 

कान्छा शेर्पा सोलुखुम्बु नाम्चेका बासिन्दा हुनुहुन्छ । ८६ वर्षीय शेर्पा २० वर्षको उमेरमा तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीको लागि बाटो बनाउँदै सगरमाथाको ‘साउथ पोल’ भन्दा माथि पुग्नुभएको थियो । भक्तपुरबाट ४ सय भरिया र आरोहण दलका ३५ जना समेत गरी ४ सय ३५ जनाको टोली हिँडेर नाम्चे पुग्दा कान्छा शेर्पा ‘हाई अल्टिच्यूड शेर्पा’ को रुपमा हुनुहुन्थ्यो । बिल्कुलै नयाँ अनि साहसिक यात्राको कथा कान्छा शेर्पा अहिले पनि उत्साहका साथ सुनाउनुहुन्छ ।

नाम्चेबाट भागेर दार्जीलिङ 

साढे ६ दशक अगाडि सोलुखुम्बुको खुम्बुमा शेर्पाहरुले कठिन जीवनयापन गरिरहेका थिए । आलु र फापर मात्र उत्पादन हुने त्यहाँका बासिन्दा खेती र पशुपालन गर्थे । चामलको भात खान ल्होसार पर्खनुपर्ने बताउने कान्छा शेर्पा व्यापारीको कागजको भारी बोकेर तिब्बतसँगको सीमाक्षेत्र पुग्दा पाँच रुपैयाँ पाउनुहुन्थ्यो र त्यसबाट पाँचपाथि नुन किनेर ल्याउनुहुन्थ्यो । कान्छा शेर्पा भन्नुहुन्छ, ‘सोलुकै जुभिङतिर एक माना नुनको चारमाना मकै साटेर लैजान्थ्यौँ, त्यो निकै मिठो हुन्थ्यो ।’  

अभावले गाँजेपछि कान्छा शेर्पा काम खोज्दै दार्जीलिङ जानुभयो । नाम्चेबाट हिँडेर दार्जीलिङ पुगेको बताउने कान्छा शेर्पालाई तेञ्जिङ नोर्गे शेर्पाले काम दिन्छ भनेर कसैले सुनाएका थिए । नाम्चेबाट बसाइँ गएका तेञ्जिङ दार्जीलिङमा परिचित थिए, त्यसैले सजिलै भेटे । आफ्ना पिता र तेञ्जिङको चिनजान रहेकोले कान्छालाई समस्या भएन । उहाँले तेञ्जिङको घरमा घाँसदाउरा गर्ने लगायतको काम पाउनुभयो । 

पहिलोपटक चोमोलोङमा (सगरमाथा) बारेमा सुने  

तेञ्जिङको घरमा काम सुरु गरेको केही दिनमा तेञ्जिङले तीन महिना यहाँ काम गर त्यसपछि चोमोलोङ्मा (सगरमाथा नामाकरण भएको थिएन) जानुपर्छ भन्दा कान्छा शेर्पाले उत्सुकताका साथ सोध्नुभयो, ‘कहाँ छ चोमोलोङमा ?’, ‘तिम्रै घरमाथि त हो नि’ तेञ्जिङको जवाफले कान्छालाई तीन महिना कहिले बित्ला जस्तो लाग्यो । त्यसबेला नाम्चेमा विदेशी हैन नेपालीहरु पनि पुग्दैनथे, शेर्पाभन्दा अरु भाषा नबुझ्ने कान्छालाई दार्जीलिङले केही फरक संसार देखायो । 

यात्रा काठमाण्डौ उपत्यकाको  

दार्जीलिङमा तीन महिना घरेलु कामदारमा जागिर खाएपछि कान्छा शेर्पाले तेञ्जिङसहितका आठ जना शेर्पाका साथ लागेर नेपालको यात्रा सुरु गर्नुभयो । उनीहरु रक्सौलसम्म रेल चढेर त्यसपछि हिँड्दै भक्तपुर आइपुगे । आफैंले बोकेको सातुसामल खाँदै बाटोका पाटी वा ओढारमा बास बस्दै हिँडेको त्यो यात्रा सम्झिदा कान्छा शेर्पा अहिले पनि रोमाञ्चित हुनुहुन्छ । एकाध घर मात्र भएको भक्तपुरमा क्याम्प बनाएर बसेको केही दिनमा हिलारीको टोली आइपुग्यो । 

अचम्मका मान्छे देखेँ

भक्तपुरमा आफूहरुले बनाएको क्याम्पमा हिलारीसहितको १५ सदस्य टोली पुग्दा कान्छालाई अचम्मै लाग्यो । हाँस्दै भन्नुहुन्छ, ‘त्यसअघि मैले त्यस्ता मान्छे कहिल्यै देखेको थिइनँ, अग्ला, मोटा अनि कति सुकिला ! उनीहरुको छेउमा हामी त थोत्रा लुगा लगाएका मैला देखिने, उनीहरुसँग बोल्न मन लाग्थ्यो तर भाषा मिल्दैनन्थ्यो, केही कुरा तेञ्जिङलाई भनेर भन्न लगाएँ, उनीहरु मसँग निकै खुशी हुन्थे, मलाई धेरै माया गर्थे ।’

अनि सुरु भयो सगरमाथा यात्रा 

चोमोलोङ्मा (सगरमाथा) चढ्नको लागि चाहिने सबै सामान हिलारीको टोलीले न्यूजिल्याण्डबाटै ल्याएको थियो । विमानस्थलबाट भक्तपुरमा रहेको क्याम्पमा ओसारे र एक हप्ता लगाएर भारी कसे । ४ सय जना भरियालाई भारी तयार गरियो, अनि एक/एक सय जनाको टोली बनाएर अघि बढाइयो । २० जना शेर्पा र १५ जना विदेशीसहित ३५ जनाको एउटा टोली थियो । 

भक्तपुरबाट बनेपा, पाँचखाल, दोलालघाट हुँदै १६ दिनमा टोली नाम्चे पुग्यो । सयौँ मान्छेको ताँती बाटोमा देख्दा मान्छेहरु अचम्म मानेर हेर्थे । कसैले किन हिँडेको भनेर सोध्दा कान्छा पनि नाजवाफ हुन्थे । कान्छा भन्छन्, ‘म अचम्ममा थिएँ हामी किन हिँडेको भनेर, यत्रो खर्च गरेर यति धेरै सामान लिएर किन हिँडेको होला भनेर मनमा खुल्दुली हुन्थ्यो तर तेञ्जिङलाई सोध्न सक्दैनथेँ, चोमोलोङमा जाने भनेको भए पनि आरोहण गर्ने भन्ने मलाई पनि थाहा थिएन ।’

बाटोमा तेञ्जिङ खुब रमाइलो गर्थे, शेर्पा भाषामा गीत गाउँथे, नाच्थे, विदेशीहरु पनि उनीसँगै रमाउँथे । भारी बोकेर हिँड्दा धेरै थकान् लाग्ने भए पनि विदेशीले दिएका नयाँ लुगा, दिनको आठ रुपैयाँ ज्याला र एउटा नयाँ यात्राले उहाँलाई उत्साहित बनाएको थियो । लक्ष्य थाहा नभए पनि आफ्नो काममा दत्तचित्त भएर लाग्नुभयो, जसरी भरियाहरु पनि भारी बोकेर हिँडिरहन्थे । 

२५ भारी पैसा 

नाम्चे पुगेपछि कान्छाले थाहा पाउनुभयो, चार सय भारीमध्ये २५ भारी त पैसा मात्र रहेछ । नाम्चेमा पुगेपछि भरियाहरुलाई बाँड्दा आधाजसो पैसा सकिएको कान्छा शेर्पा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बाटोमा ती २५ भरिया हामीसँगै हुन्थे, सरकारले पठाएका पाँचजना प्रहरी पनि उनीहरुलाई छाड्दैनथे, तेञ्जिङले मलाई यी भारी ख्याल गर भन्दै कुर्न लाउँथे, के होला वास्तै गरिनँ, नाम्चे पुग्दा पो थाहा भयो, २५ भारी त पैसा मात्रै रहेछ ।’ 

बाबु दङ्ग, आमा चिन्तामा  

चार सय ३५ जनाको हुलमा छोरालाई नयाँ लुगामा देख्दा तेञ्जिङ्गका बाबुआमा निकै खुशी भए । झण्डै चार महिना पछि बाबुआमासँग भेट भएको थियो । उहाँले बाबुआमालाई विदेशी मिठाई चखाउनुभयो, अनि केही चाँदीका सिक्का पनि दिनुभयो । कमाइ र कामका बारेमा पनि बताउनुभयो ।

बाबुले खुशी हुँदै राम्रोसँग काम गर्नु भन्नुभयो । आमाले भने चिन्ता गर्नुभयो । कान्छाले भन्नुभयो, ‘चोमोलोङ्माबाट फर्कँदा पनि आमा त रोएर बस्नुभएको रहेछ, दिनदिनै बत्ती बालेर मेरो छोरालाई केही नहोस् भन्दै भगवानसँग प्राथना गर्नु हुँदो रहेछ ।’

नाम्चेबाट उकालो लाग्यो टोली 

नाम्चेभन्दा माथि जान वातावारण अनुकूल नहुने भएकोले भरिया बिदा भए । त्यो भारी याकलाई बोकाएर टोली नाम्चेबाट उकालो लाग्यो । नाम्चेबाट आधार शिविर पुग्न ६ दिन लागेको कान्छा बताउनुहुन्छ । भन्नुहुन्छ, ‘नाम्चेबाट त्याङबोचे, त्याङबोचेबाट याराङ, याराङबाट फेरिचे, फेरिचेबाट लुबुचे, लुबुचेबाट गोरप्सेक र गोरप्सेकबाट आधारशिविर पुग्यौं, त्यसबेला पाङबोचेभन्दा माथि मानव बस्ती थिएन ।’ 

आधार शिविरमा क्याम्प खडा 

नाम्चेभन्दा माथि टोलीमा ३५ जना र याक खेद्न केही स्थानीय थिए । कान्छा लगायत शेर्पाहरुले पाल टाँगेर बस्ने ठाउँ, खाना पकाउने भान्छादेखि चर्पी समेत बनाए । आधार शिविरमा दाउरा बालेर खाना पकाउँथे ।

अहिले पनि आरोहीहरु आफूलाई वातावारण अनुकूल बनाउन हप्ता दिनदेखि महिना दिनसम्म आधार शिविरमा बिताउँछन् । त्यसबेला आधार शिविरमा पनि हरियो घाँस रहेको कान्छा बताउनुहुन्छ । कान्छा भन्नुहुन्छ, ‘पछि म जाँदाजाँदै फेरियो, अहिले त हरियो घाँस कतै देखिन्न, ढुङ्गा माटो र हिउँमात्रै छ ।’ 

खोज्न थाले सगरमाथा चढ्ने बाटो 

आधार शिविरबाट शेर्पाहरु बाटो खोज्दै अघि बढे । केही अगाडि गएपछि खर्पस देखियो । त्यो पार गर्न सकेनन् । भर्‍याङ लगिएको थिएन । पर्‍याे फसाद । उपाय निकाले, नाम्चे झरेर सल्लाका रुख काटेर लैजाने अनि साँघु र भर्‍याङ बनाउने । कान्छासहितको टोली नाम्चे आए । १० वटा सल्लाका रुख काटे । अनि स्थानीय शेर्पालाई बोकाएर आधार शिविर लगे । एउटा रुख दुई जनाले काँधमा बोकेर उकालो चढेको कान्छा सम्झनुहुन्छ । खर्पसमा पुल र केही ठाउँमा भर्‍याङ बनाए । १० मध्ये ८ वटा रुखले काम टर्‍यो । 

शिविर निर्माण

शेर्पाहरु शिविर बनाउन थाले । बाटो बनाउने अनि शिविरमा पाल टाँग्ने, अक्सिजन, खानेकुरा, कपडालगायत ओसार्ने काम गर्थे । आधार शिविरभन्दा माथि स्टोभमा खाना पकाउन थाले । स्टोभ बलेको देख्दा कान्छालाई अचम्म लाग्यो । शिविरमा पाल टाँग्ने र खाना, अक्सिजन पुर्‍याउने लगाएतका काम सकिएपछि विदेशीहरु जान्थे ।

बाटो खोज्न धेरै दुःख भएको कान्छाको अनुभव छ । भन्नुहुन्छ, ‘कतै खर्पस, कतै पहिरो, कतै चट्टान दुःख त कति हो कति !’

उनीहरुले पहिलो शिविर ६,०५० मिटर, दोश्रो शिविर ६५०० मिटर, तेश्रो शिविर ७,२०० मिटर र चौथो शिविरी (दक्षिण पोल) ७९०० मिटरमा स्थापना गरे । अहिले प्रयोग हुने बाटो र शिविर राख्ने ठाउँ उनीहरुले नै पहिल्याएका हुन् । कान्छा भन्नुहुन्छ, ‘हामीले अनुमान्कै भरमा गरेका थियौं तर ठिक गरेछौँ ।’

बाटो बनाउँदै कान्छासहित तीन जना शेर्पा चौथो शिविरभन्दा माथि शिखर छेवैमा पुगेका थिए । कान्छासँगै शिखरछेउ पुग्नेमा दावा तेञ्जिङ र छोतरे शेर्पा थिए । कान्छा भन्नुहुन्छ, ‘शिखर नजिकै पुगेपछि माथि नै जाउँजाउँ लागेको थियो तर हामीलाई हुकुम थिएन ।’

१९५३ मे २९ को त्यो दिन

मे २८ को साँझपख तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी चौथो शिविरमा थिए । उनीहरुको लागि पाल टाँगेर सुत्ने ठाउँ कान्छाको समूहले बनाएको थियो । त्यसका लागि तेञ्जिङकै नेतृत्व थियो । केही खाना, अक्सिजन लगाएतका बन्दोबस्तका सामान सबै पुर्‍याइएका थिए । सबै व्यवस्था मिलाएर कान्छा र साथीहरु दोश्रो शिविरमा झरे ।  

मे २९ को दिउँसो १ बजेतिर हिलारीले आफ्ना सम्पर्क अधिकृतलाई सगरमाथाको शिखरबाट सम्पर्क गरेर आरोहण सफल भएको जानकारी गराए । कान्छा भन्नुहुन्छ, ‘त्यसबेला कति खुशी भयौँ कति, म भन्नै सक्दिनँ, न्यूजिल्याण्डका मान्छेले त हामीलाई अँगालो मारे, किस गरे, हामीलाई त्यस्तो थाहा थिएन, हामी चाहिँ शेर्पा भाषामा गीत गाउँदै हिउँमाथि नै नाच्यौँ, सबै जना दोश्रो शिविरमा भेला भयौँ, त्यस्तै दुई घण्टापछि हिलारी र तेञ्जिङ आइपुगे, सबैलाई धन्यवाद दिए, अर्को महिना भेट्ने भन्दै हिलारी, तेञ्जिङ र न्यूजिल्याण्डबाट आएकाहरु काठमाण्डौतिर लागे, हामी चाहिँ अरु एक हप्ता बसेर सबै सामान जम्मा गर्‍यौँ ।’

धेरैजसो सामान उतै छाडियो 

‘९० दिनको योजना रहेछ, ४५ दिनमै सफल भयो । खाना पनि थुप्रै बाँकी थियो, मट्टीतेल, स्टोभ, डोरी, पाललगायतका धेरै सामान दोश्रो शिविरमा छाडियो, आधार शिविरमा भएका त्यतै थिए’, कान्छा सम्झनुहुन्छ, ‘कति राम्रा–राम्रा लुगा जुत्ता पनि थिए । बोक्न सकेको भएपो ल्याउनु त्यतै छाडियो, दुई वर्षसम्म पनि आधार शिविर जानेहरुले खान्थे ।’

तलबको दोब्बर बक्सिस  

कान्छालाई तीन महिनाका लागि दिनको आठ रुपैयाँ तलब तोकिएको थियो । त्यसअघि कागज बोक्दा तीन दिनमा पाँच रुपैयाँ पाउने कान्छाका लागि त्यो निकै धेरै थियो । ४५ दिनमै काम सकिए पनि पुरै तीन महिनाको तलब पाउनुभयो । खुशी हुँदै कान्छा भन्नुहुन्छ, ‘कति दिए त थाहा भएन तलब भनेर दिएको सिक्का भन्दा बक्सिस दिएको सिक्का दोब्बर नै थिए ।’

जुरेन शिखरमा पुग्न

सगरमाथामा आरोहण सफल भएपछि हरेक वर्ष आरोहण टोली आउन थाले । टोलीमा कान्छा छुट्नु हुँदैन थियो । लगातार २० वर्षसम्म हाईअल्टिच्यूड शेर्पाको रुपमा काम गर्नुभयो । वर्षमा डेढ/दुई महिना काम गर्दा आम्दानी राम्रै हुन्थ्यो । शिखर नजिक धेरैपटक पुगे पनि शिखर चुम्ने भाग्य नपाएको कान्छा बताउनुहुन्छ । भन्नुहुन्छ, ‘मन त थियो नि हुकुम पाइएन, भाग्यमा नभएपछि कहाँ जुर्छ र ?’

१९७३ मा सगरमाथामा हिमपहिरोमा परेर केही शेर्पाहरुले ज्यान गुमाएपछि अर्को वर्षदेखि कान्छाकी श्रीमतीले हिमाल जान रोक लगाइन् । ‘साथीहरु मरेको देखेर मलाई पनि नराम्रो लागेको थियो, श्रीमतीले नजाउ न भनिन्, अनि छाडिदिएँ ।’ अहिले उहाँका २ छोरा र २ छोरी छन् । छोराछोरी भने हिमालतिर गएनन् । 

जीवनस्तर उकासियो, वातावरण बिग्रियो

सगरमाथा चढ्न थालेपछि खुम्बुको जीवनस्तर एकाएक सुधार भयो । विदेशी आए, काम पाए, सहयोग पाए । केही वर्षमा सुधार देखियो । अहिले त्यहाँ आम्दानी र जीवनशैली दुवै उच्च छ । तर सगरमाथामा भने फोहोर बढ्ने, हिउँ पग्लने जस्ता समस्या देखिएको कान्छा बताउनुहुन्छ ।

भन्नुहुन्छ, ‘हिमाल हामी शेर्पाहरुको भगवान हुन्, जथाभावी गर्दा भगवान् रिसाउँछन्, अहिले फोहोर बढेको छ, सफा राख्न र त्यहाँ नराम्रो काम हुन दिनु हुँदैन ।’  
 

अन्तिम अपडेट: चैत १३, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया