लमजुङको ईशानेश्वर महादेव मन्दिर: शिवरात्रीमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वास

 फागुन १९, २०७५ आइतबार १८:४८:३८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

शिवरात्रीमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वासका साथ भक्तजनहरु त्यहाँ आउने गरेको महादेव क्षेत्र विकास समितिका सदस्य शंकरराज घिमिरेले बताउनुभयो । 

मध्यनेपाल नगरपालिका–७, करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिर शिवरात्रीको दिन काठमाण्डाैकाे पशुपतिनाथपछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रुपमा पनि परिचित छ । ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रुपमा पनि पुज्ने चलन छ ।

महाशिवरात्रीको अवसर पारेर लामो समय अघिदेखि सन्तान नभएका सयौं दम्पतीहरुले मन्दिर परिसरमा रातभर जाग्राम बसेर ठाडो बत्ती बाल्न टाढा–टाढाबाट समेत आउने गरेको घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रीमा रातभर उभिएर ठाडो बत्ती बालेमा सन्तान प्राप्ति हुन्छ । सन्तान प्राप्तिको आशामा बत्ती बाल्नका लागि काठमाण्डौ, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, नवलपरासीलगायतका विभिन्न जिल्लाबाट सयौं संख्यामा भक्तजनहरु लमजुङको करापुटार आइपुगेका छन् ।

‘करापुटार महादेव मन्दिरमा शिवरात्रीका दिन बर्सेनि महाशिवरात्री मेला लाग्छ,’ घिमिरेले थप्नुभयो, ‘मेला भर्नका लागि देशका विभिन्न जिल्ला र भारतबाट समेत उलेख्य संख्यामा भक्तजनहरु आउँछन् । यसपाली त झन् मेलाको पनि आयोजना गरिएको छ । यसपालीको शिवरात्रीको दिन १ लाखभन्दा बढी भक्तजनले मेला भर्ने हाम्रो अनुमान छ ।’ 

उहाँका अनुसार शिवरात्रीका दिन सन्तान पाउने आशा गर्दै थुप्रै भक्तजनहरु ईशानेश्वर महादेव मन्दिरमा ठाडो बत्ती बाल्न पुग्ने गर्दछन् ।

‘शिवरात्रीका दिन निराहार जाग्राम बसेर महिलाहरुले आफ्नो श्रीमानको उचाइ बराबरको काँचो धागोको बत्ती बनाएर महादेव मन्दिरमा उभिएर बाल्दा सन्तान लाभ हुने धार्मिक विश्वास छ,’घिमिरेले भन्नुभयो, ‘ठाडो बत्ती बाल्ने र शिवरात्रीमा महादवेको दर्शन गर्न आउने भक्तजनको संख्या बर्सेनि बढ्दो छ ।’
 

अन्तिम अपडेट: चैत ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया