जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा ६ गुणा बढी कैदी

 फागुन २२, २०७५ बुधबार १४:४८:३८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा छ गुणा बढी कैदी राखिएको छ ।

२५ जना क्षमताको जिल्ला कारागारमा अहिले १ सय ५३ जना राखिएका छन् ।तीमध्ये १ सय ३६ जना पुरुष, १५ जना महिला, २ वर्ष र १७ महिनाका नाबालक समेत रहेका छन् । 

क्षमताभन्दा छ गुणा बढी बस्नुपरेपछि अहिले कैदीहरु मुस्किलले बसेका छन् भने स्वास्थ्य समस्या आउँदा अप्ठेरो हुने गरेको कारागारका प्रमुख सुरेन्द्रबहादुर मुखियाले बताउनुभयो ।

कारागारको क्षमता अनुसार सरकारबाट कैदीको स्वास्थ्य उपचारको लागि वर्षमा ८० हजारदेखि १ लाख सम्म रकम विनियोजन हुने र यो रकमले करिब ६ महिनामात्र पुग्ने मुखियाको भनाइ छ ।

कारागारमा एक जना मानसिक रोगी र अर्का एक जना मुटु रोगीसमेत रहेका छन् । यस्तै अपाङ्गता भएका एक जना र ७५ वर्षीय २ जना वृद्धसमेतले कैद भुक्तान गरिरहेका छन् । 

कैदीको स्वास्थ्य उपचारका लागि सरकारबाट विनियोजन हुने रकम अपुग हुँदा दिर्घरोगी र मौसमी प्रकोप हुँदा समस्या हुने गरेको कारागारका हेल्थ असिष्टेण्ट अनुप सेढार्इँले बताउनुभयो । 

कारागारमा पानीको भने राम्रो व्यवस्था रहेको बताइएको छ ।

कारागारभित्र जम्मा पाँचवटा शौचालय छन् । शौच गर्न कहिलेकाहीँ निकै लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको कैदीहरुको गुनासो छ । 
खाटमाथि अर्काे खाट जोडेर सुत्ने व्यवस्था गरिएको कारागारका नाइके टेकनाथ रिजालले बताउनुभयो । कैदीहरुको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै कारागारभित्र १२ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

२०३० सालमा निर्माण गरिएको कारागारको भौतिक संरचना समेत जीर्ण बन्दै गएको छ । कारागारको क्षमता बढाउन र जीर्ण संरचनालाई मर्मतको लागि मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको र त्यसको थप प्रक्रिया अघि बढिरहेको कारागार प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया