सडक योजनाको ठाउँ परिवर्तन गरिएको भन्दै स्थानीयको विरोध

 फागुन ३०, २०७५ बिहिबार ८:६:५५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको भोटखोला गाउँपालिका–४ को गोलाबाट स्याक्सिला जाने कृषि सडक योजनाको ठाउँ परिवर्तन गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

भोटखोला–४ का सामाजिक अगुवा डुक्पा थिकेपा भोटेले आफ्नो क्षेत्रमा परेको बजेट केही व्यक्तिको व्यक्तिगत स्वार्थ र मिलेमतोमा स्थानान्तरण गरेको भन्दै पहिले तोकिएकै स्थानमा बजेट खर्च गर्नुपर्ने माग गर्नुभयो । भोटखोला गाउँपालिका वडा नं.४ को गोलाबाट स्याक्सिला जाने कृषि सडकको लागि एक नम्बर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अनुदानमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

वडा नम्बर ४ का वडाध्यक्ष र गाउँपालिका अध्यक्ष तेम्बा भोटेको स्वीकृतिमा यो योजना गोलाबाट लिङ्गाम मङखिमतर्फ लगिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् । संखुवासभाबाट निर्वाचित १ नम्बर प्रदेशका सांसद पूर्णप्रसाद राईको प्रत्यक्ष संग्लनतामा वडाध्यक्ष र गाउँपालिका अध्यक्षको मिलेमतोमा योजनाको शिर्षक परिवर्तन गरिएको स्थानीय डुक्पा थिकेपा भोटेले आरोप लगाउनुभयो । 

उहाँले आफ्नो क्षेत्रमा परेको योजना अन्यत्रै सारेको भन्ने सुन्नेबित्तिकै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र प्रदेशका माननीय राईसमेतले योजना नसार्न धेरै अनुरोध गरेपनि आनाकानी गर्दै बजेट अर्को ठाउँमा हालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘४ नम्बर वडाको गोलबाट स्याक्सिला जाने कृषि सडकको योजना किन गोलाबाट लिङगाम मंङ्खिम जाने सडकमा सारियो । यो नै अनौठो छ । केही व्यक्तिको स्वार्थमा बजेट अन्यन्त्र सारिएको हो ।’

आफ्नो क्षेत्रमा परेको योजना अर्को ठाउँमा परिवर्तन गरिएको थाहा पाउनेबित्तिकै ४ नम्बर वडाका अगुवा ज्याम्बा भोटेको अगुवाईमा २३ जनाले हस्ताक्षार संकलन गरेर योजनाको ठाउँ परिवर्तन नगर्न जिल्ला समन्वय समिति संखुवासभामा निवेदन गरिएको थियो । तत्कालै जिल्ला समन्वय समितिले योजनाको ठाउँ परिवर्तन नगर्न अनुरोध गर्दै एक नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्राचार गरेको थियो । 

प्रदेश आर्थिक मामिला मन्त्रालयमा सुनुवाई नभएपछि ४ नम्बरका स्थानीयहरु विराटनगर नै पुगेर एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई निवेदन दिएका थिए । तर मुख्यमन्त्रीले समेत आफूहरुको समस्यालाई बेवास्ता गरेको स्थानीय डुक्पा थिकेपा भोटेले गुनासो गर्नुभयो । ‘वडा र गाउँपालिकाले चासो नदेखाएपछि जिल्ला समन्वय समितिमा निवेदन गरियो । त्यसपछि मुख्यमन्त्री ज्यूलाई नै निवेदन गर्दा्समेत कुनै चासो नै दिनुभएन,’  भोटेले भन्नुभयो ।

भोटेल सर्वसाधारण जनताको आँखामा छारो हाल्दै योजनाको परिवर्तन गरिए पनि त्यति ठूला योजना सार्वजनिक ठेक्का सम्झौता अनुसार हुनुपर्नेमा आफूखुशी उपभोक्ता समिति गठन गरेर बजेट सक्ने मात्रै काम हुन लागेको आरोप लगाउनुभयो । गोला—लिङ्गाम मंङखिम सडकमा प्रदेश सरकारको डेढ करोड रुपैयाँ र प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले समेत १५ लाख रुपैया बजेट विनियोजन गरेको स्थानीयहरुको भनाइ छ । 

गोला—स्याक्सिला सडकखण्डको सर्भे गर्ने क्रममा विवाद उत्पन्न भएपछि योजना परिवर्तन गरेर गोला—लिङ्गाम मंङखिम सडकमा बजेट हालिएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो । पटक—पटक पहल गर्दा पनि स्थानीय गाउँलेहरुबीच सहमति नभएपछि बजेट अर्को सडकमा हाल्न बाध्य भएको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ ।

सदरमुकाम खाँदबारीबाट पैदल एकहप्तामा पुगिने भोटखोला क्षेत्रमा भर्खरैमात्र सडक सञ्जालले छोएको छ । चीनको सिमावर्ती किमाथाङ्का नाकामा पर्ने भोटखोला क्षेत्र जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया